काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी बैठक समाप्त भएको छ । स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकमा छलफल हुने एजेण्डाहरु तय गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले स्थायी कमिटीको बैठकमा संगठनात्मक सिद्धान्त र केन्द्रीय समितिको बैठकलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए ।
उपाध्यक्ष सापकोटाले केन्द्रीय समिति बैठकको सुरुमा श्रद्धाञ्जली सभा राखिएको र त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकको उद्घाटन गर्ने बताए । उद्घाटनसँगै अध्यक्ष प्रचण्डले अहिलेको समसामयिक परिस्थितिबारे ब्रिफिङ गर्ने, प्रचण्डको ब्रिफिङ सकिएपछि सबै प्रदेशका अध्यक्षहरुले आ–आफ्नो प्रदेशको रिपोर्टिङ गर्ने र त्यसपछि अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेश गर्ने उपाध्यक्ष सापकोटाले बताए ।
उपाध्यक्ष सापकोटाका अनुसार स्थायी कमिटी बैठकमा संगठनात्मक सिद्धान्तको बारेमा पनि व्यापक छलफल भएको छ । विकसित परिवेश सुहाउँदै संगठनात्मक सिद्धान्तको विकास गरेर अगाडि बढ्नुपर्नेमा स्थायी कमिटीका सदस्यहरु एकमत देखिएका छन् ।
‘स्थायी समिति बैठकमा छलफल भएको विषय चाहीँ संगठनात्मक सिद्धान्तको बारेमा । आधारभूत रुपमा त हामीले मालेमावादी संगठन सिद्धान्तलाई नै आधार बनाउँछौं । तर, पहिला विकास गरिएको कुरामा आमूल परिवर्तन भएको छ । विज्ञान,प्रविधिलगायत अन्य क्षेत्रमा पनि विकास भइरहेको छ ।
युवाहरुलाई प्रशिक्षित गर्ने, संगठित गर्ने विषयदेखि लिएर विज्ञान र प्रविधि सबै कुरालाई विचार गर्दै नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्नुपर्छ भनेर स्थायी समितिका सबै कमरेडहरुले सुझाव दिनुभएको छ । त्यसका साथै, विचारको विकास गर्ने, परिमार्जन गर्ने, नयाँ राजनीतिक कार्यदिशासहित अहिलेको यथास्थितिलाई क्रमभंग गरेर नयाँ दिशातिर जाने भन्ने छ,’– उपाध्यक्ष सापकोटाले भने ।
प्रतिक्रिया