×

स्कटल्याण्डसँग नेपाल ३ विकेटले पराजित

images

काठमाडौं । नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल आइतबार स्कटल्याण्डसँग पराजित भएको छ । विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा भएको खेलमा नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य स्कटल्याण्डले मात्र ३२.१ ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको हो ।

स्कटल्याण्डलाई जीत दिलाउन क्रिस्टोफर म्याकब्राइडले ४३ तथा ब्रान्डन म्याकमुलेनले नटआउट रहँदै ३२ रन बनाए । नेपालका लागि सागर ढकाल,  गुल्सन झा र ललित राजवंशीले २–२ विकेट लिए ।​ लो स्कोरिङ खेलमा दुवै टोलीले ब्याटिङमा संघर्ष गरेका थिए । नेपालले थोरै रन बनाए पनि उत्कृष्ट बलिङ गर्दै स्कटल्याण्डको ७ विकेट लिन सफल भएको थियो ।

यस जितपछि ३० खेलबाट ४४ अंक जोड्दै स्कटल्याण्ड शीर्ष स्थानमा उक्लेको छ भने शीर्ष तीनमा रहँदै अर्को वर्ष हुने ओडीआई विश्वकपको ग्लोबल क्वालिफायरमा पनि लगभग स्थान पक्का गरेको छ ।

लिग टु मा सबै ३६ खेल नै खेलिसकेको ओमानको पनि ४४ अंक नै छ । तर राम्रो नेट रनरेटमा स्कटल्याण्ड शीर्षमा छ । नेपाल भने २२ खेलपछि १८ अंकसहित छैटौं स्थानमै छ ।

विन्डहोक मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिलो ब्याटिङ गर्दै सबै विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रन बनाए । ज्ञानेन्द्र मल्लले २५ रन, अर्जुन साउदले १८ रन तथा कप्तान रोहित पौडेलले १७ रनको योगदान दिए । स्कटल्याण्डका लागि क्रिस सोलले ३ विकेट तथा मार्क वाटले २ विकेट लिए । 

आइतबार​ १८ मंसिर २०७९ ०८:३६ PM मा प्रकाशित

प्रतिक्रिया