×

गठबन्धन दायाँबायाँ हुँदैन- प्रचण्ड

images

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल भएको छ। आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पदाधिकारी बैठक चुनावी समीक्षामा केन्द्रित रह्यो। पदाधिकारीको अनौपचारिक बैठकमा अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन दायाँबायाँ नहुने स्पष्ट गरेका हुन् । 

उनले सत्ता गठबन्धनका चार दल र लोसपासहित मिलेर चुनाव लगिएको स्मरण गर्दै गठबन्धन र तालमेलको भावनाअनुसार नै नयाँ सरकार बन्ने बताएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार गठबन्धनबाट पार्टी दायाँबायाँ नहुने भएकाले सोहीअनुसार आफ्नो गतिविधि गर्न पनि नेताहरूलाई निर्देशन दिएका छन् । 

‘हामी गठबन्धनकै पक्षमा छौँ र हुन्छौं’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘हामी गठबन्धन भन्दा दायाँबायाँ गर्ने स्थितिमा छैनौँ । यसरी जाँदा कसैले लाञ्छना लगाउने भन्ने पनि हुँदैन । यो कुरालाई तपाईँहरुले चिरेर जानुस् ।’

शनिबार माओवादीले एमालेसँग सहकार्य गर्नसक्ने भनेर बाहिर मेसेज गएपनि पार्टी त्यो अवस्थामा नपुगिसकेको प्रचण्डले बैठकमा बताएका थिए । बैठकपछी  महासचिव देवप्रसाद गुरूङले चुनावी समीक्षा र सरकारबारे सामान्य रूपमा छलफल गरिएको पत्रकारहरूलाई बताए। उनले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बनाउने पहिलो प्रयास रहने बताएका छन्।

‘अहिलेको गठबन्धनलाई तोड्ने वा फोड्ने कुरा भएको छैन। आपसी समझदारीलाई जोड दिने हो। अहिलेको गठबन्धनको विकल्पबारे सोचेका छैनौं,’ गुरूङले भने, ‘गठबन्धनको बैठक गरेर समीक्षा गर्छौं।’

गुरूङका अनुसार सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक सोमबार बस्ने तय भएको छ। उक्त बैठकमा चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल हुनेछ। उनले गठबन्धनको विकल्प पार्टीले अहिले नै नखोजेको र गठबन्धनबाट नै नयाँ सरकार बनाउन माओवादीको पहिलो प्रयास भएको बताए।  

आइतबार​ १८ मंसिर २०७९ ०८:२० PM मा प्रकाशित

प्रतिक्रिया