×

दक्षिण कोरियाको बहादुरीसँगै अन्तिम १६ को समीकरण पूरा

images

दोहा । विश्वकप २०२२ मा शुक्रबार अन्तिम १६ को समीकरण पूरा भएको छ । अब आजदेखि नकआउट चरणका खेल सुरु हुनेछन् । समूह ‘जी’ मा क्यामरुनले पाँच पल्टको विजेता ब्राजिललाई १–० ले पराजित गरे पनि त्यो अगाडि बढ्न पर्याप्त रहेन् । त्यस समूहबाट ब्राजिल र स्विटजरल्यान्ड प्रि–क्वाटरफाइनल पुगे ।
स्विटजरल्यान्डले अर्को खेलमा सर्बियालाई ३–२ ले हरायो । क्यामरुनको ऐतिहासिक जितमा भिन्सेन्ट अबुबाकरले ९२ औं मिनेटमा निर्णायक गोल गरे । ब्राजिलले भने आफ्ना दोस्रो रोजाईका खेलाडी उतारेको थियो । समूह ‘एच’ बाट पोर्चुगल र दक्षिण कोरिया अर्को चरण पुगे । दक्षिण कोरियाले बहादुरीपूर्ण खेल प्रदर्शन गर्दै पोर्चुगललाई २–१ ले हरायो ।
यससँगै पोर्चुगल र दक्षिण कोरिया शीर्ष दुई स्थानमा रहे । अर्को खेलमा उरुग्वेले घानालाई २–० ले हरायो । दक्षिण कोरियाले निकालेको जितमा ह्वाङहि–चानले ९१ औं मिनेटमा गोल गर्दै अर्को ऐतिहासिक जित दिलाए । लिग चरणको अन्तिम दिन ब्राजिल, स्विटजरल्यान्ड, पोर्चुगल र दक्षिण कोरियाले अन्तिम १६ को समीकरण पूरा गरे ।
त्यस अगाडि नेदरल्यान्ड्स, सेनेगल, इंग्ल्यान्ड, अमेरिका, फ्रान्स, अस्ट्ेरलिया, अर्जेन्टिना, पोल्यान्ड, मोरक्को, क्रोएसिया, जापान र स्पेन प्रि–क्वाटरफाइल पुग्न सफल रहेका थिए । आज हुने नकआउट चरणको पहिलो दिनको खेलमा नेदरल्यान्ड्सले अमेरिका तथा अर्जेन्टिनाले अस्ट्ेरलियाको सामना गर्नेछ । 
 

आइतबार​ १८ मंसिर २०७९ ०४:०२ PM मा प्रकाशित

प्रतिक्रिया