काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ८ जय बागेश्वरी गायत्री मार्गमा पुनरुत्थान गरिएको व्रह्मा मन्दिरमा मूर्ति पुनस्थापना गरिएको छ । महानगरीय प्रहरी वृत्त गौशालामा संरक्षण गरेर राखिएको मूर्तिलाई बग्गीमा राखेर मन्दिर पुर्याइएको थियो । यस क्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतसहित स्थानीयले उल्लासपूर्ण पुनःस्थापना यात्रामा सहभागिता जनाएका थिए ।
ब्रह्माको मूति हराएको भेट्टाइएको र संरक्षण गरिएको विषयमा जानकारी दिँदै वडाध्यक्ष आशामान संगतले पाका स्थानीयहरुको भनाइ उधृत गर्दै भने- 'एकाथरीको भनाइ छ, चोरले मूर्ति चोरेर लाँदा लैजान नसकेपछि धोवी खोलामा फालेको थियो । अर्को एकथरीको भनाइ छ, पशुपतिको तिलगंगा क्षेत्रमा फालिएको थियो । जता फाले पनि २०३६ देखि २०३८ का बिचमा आसनबाट मूर्ति चोरी भएको हो । र, फालिएको ठाउँबाट प्रहरीले ल्याएर प्रहरी कम्पाउण्डमा राखेको चाहिँ सत्य हो ।'
वडाध्यक्ष संगतका अनुसार यो मन्दिर हराएकै १ सय वर्षभन्दा धेरै भएको थियो । यसस्थानमा झाडी मात्र थियो । पुरातत्व विभागको सहयोगमा उत्खननपश्चात् यसको प्राचीनताको अध्ययन गरिएको थियो । यसबाट मन्दिर छैटौँ शताव्दी देखि सातौँ शताव्दीको विचमा निर्माण भएको अनुमान गरिएको छ ।
‘मन्दिरको वनावट र प्रकृति सम्बन्धी दस्तावेज नपाइए पछि हामीले जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्वविदहरुबाट मन्दिरको रेखाङ्कन गरेर पुननिर्माण गराएका हौँ ।’ संगतले जानकारी दिए ।
सार्वजनिक खरिद प्रक्रियाबाट छानिएको निर्माण पक्षबाट मन्दिरको पुनःनिर्माण गरिएको हो । यसको लागत करिब १ करोड १५ लाख रुपियाँ हो । मन्दिर माटो, इटा र काठको प्रयोगबाट निर्माण गरिएको छ । यो दुई तलाको प्यागोडा शैलीको छ ।
प्रतिक्रिया