×

न्युजिल्यान्ड सेमिफाइनलमा, अष्ट्रेलियालाई अझै गाह्रो

images

एडिलेड । न्युजिल्यान्ड ट्वान्टी ट्वान्टी विश्वकप २०२२ को सेमिफाइनल पुग्ने पहिलो टिम भएको छ । सुपर–१२ को ग्रुप–१ का शुक्रबार भएका दुई खेलमा न्युजिल्यान्ड र अष्ट्रेलिया विजयी रहे । यी नतिजापछि न्युजिल्यान्डको अन्तिम चारको यात्रा निश्चित भएको हो । अष्ट्रेलियाको नकआउट चरण पुग्ने सम्भावना कायम रहे पनि त्यो उसको हातमा मात्र रहने छैन् ।

दिनको पहिलो खेलमा न्युजिल्यान्डले आयरल्यान्डलाई ३५ रनले हराएको हो । जितका लागि १ सय ८६ रन पछ्याएको आयरल्यान्डले नौ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो । यस हारसँगै आयरल्यान्डको प्रतियोगितामा यात्रा समाप्त भएको छ । आयरल्यान्ड पाँच खेलबाट तीन अंकमा रह्यो । टस जितेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले छ विकेटमा १ सय ८५ रन बनाएको थियो ।

दोस्रो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ४ रनले हरायो । यससँगै उसको सेमिफाइनल पुग्ने सम्भावना कायम रह्यो । तर अफगानिस्तानले बलियो चुनौती पेस गरेपछि अष्ट्रेलिया आफू अनुकुल जित निकाल्न सफल रहेन् । यो जितपछि अष्ट्रेलियाको सात अंक भएको छ र इंग्ल्यान्डलाई उछिनेर लिग तालिकाको दोस्रो स्थानमा पुगेको छ ।

अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै आठ विकेटमा १ सय ६८ रन बनाएको थियो । त्यस स्कोरपछि शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड सेमिफाइनल पुग्ने निश्चित भइसकेको थियो । जवाफमा अफगानिस्तानले सात विकेट गुमाएर १ सय ६४ रन बनायो । समान अंकका बावजुत अष्ट्रेलियाले न्युजिल्यान्डलाई उछिन्न नसक्ने निश्चित भएको हो । अब इंग्ल्यान्डले सेमिफाइनल प्रवेशका लागि आफू अनुकुल जित निकाल्नु पर्नेछ । 

शुक्रबार​ १८ कात्तिक २०७९ ०७:०५ PM मा प्रकाशित

प्रतिक्रिया