×

शीर्ष नेता विकासभन्दा दोषारोपणमै व्यग्र

images

काठमाडौं। व्यवस्था परिवर्तनसँगै नयाँ संविधान जारी भएको दुई दशक पुगिसक्दासमेत नेताका ‘एजेन्डा’ फेरिन सकेका छैनन् ।

मुख्य दलका शीर्षनेताहरू चुनावी सभा समारोहमा विकास र समृद्धिभन्दा ‘राजनीतिक जोडघटाउलाई नै प्राथमिकता दिन व्यग्र छन् । राजनीतिक दलले भलै चुनावी घोषणापत्रमा सुशासन, विकास र समृद्धिलाई जोड दिने गरेका छन् ।

तर, उनीहरूले आफ्ना भाषणमा ‘राजनीतिक जोडघटाउ तथा दोषारोपण नै मुख्य विषय’ बनाउने गरेका छन् । राजनीतिक दलका शीर्ष नेताले अहिले पनि एकअर्कालाई दोषारोपण गर्ने पुरानै शैली नछाडेको पाइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा बिहीबार आयोजित कार्यक्रममा ‘विकास र समृद्धिभन्दा राजनीतिक विषय’लाई प्राथमिकता दिइएको पाइयो ।

‘गठबन्धन केही समय कायम रहनुपर्नेमा जोड दिँदै उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र मास्ने र संविधान च्यात्ने प्रयास थालेको आरोपसम्म लगाए ।

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बिहीबार नै राजधानीमा आयोजित कार्यक्रममा ‘विकास र समृद्धिभन्दा राजनीतिक विषयलाई बढी महत्व दिए । ‘४ मंसिरको निर्वाचनमा प्रतिगमनले जित्ने कि अग्रगमनले जित्ने, सुशासनले जित्ने कि अराजकताले जित्न भन्ने प्रचण्डले उल्लेख गरे ।

नेपाल समाजवादी पार्टी (.नेसपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले पनि राजनीतिक विषयलाई नै बढी प्राथमिकता दिए । जनताको संघर्षबाट प्राप्त उपलब्धि रक्षाका लागि परिवर्तनकारी शक्ति एकठाउँ आउनुपर्ने उनको जिकिर छ । संविधानसभाबाट जारी संविधान, गणतन्त्र र संघीयता रक्षार्थ गठबन्धन एकठाउँ उभिएको उनको तर्क छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विकास समृद्धि र सुशासनको विषयभन्दा ‘राजनीतिक जोडघटाउमा नै जोड दिए । एमाले घोषणापत्रमा ‘विकास समृद्धिका कुरा समेटे पनि भाषणमा भने गठबन्धनलाई दोषारोपण गर्ने’मा उनले बढी समय खर्चिएको पाइयो ।

मुख्य दलका शीर्ष नेता मात्र नभएर वैकल्पिक शक्तिका रूपमा उदाउन खोजेका रवि लामिछाने, रविन्द्र मिश्र, रमेश खरेलसहितका उम्मेदवारले पनि राजनीतिक भाषण र दोषारोपणमै समय खर्चिने गरेका छन् । राजधानी दैनिकबाट

शुक्रबार​ १८ कात्तिक २०७९ ०८:२१ AM मा प्रकाशित

प्रतिक्रिया