×

पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउपछि एमालेले भन्यो– छानबिनमा सघाउँछौ, सरकारले पूर्वाग्रह नराखी अनुसन्धान गरोस्

images

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा आग्रह–पूर्वाग्रह नराखी अनुसन्धान गर्न र कानुन पालनामा सघाउन पार्टी तयार रहेको एमालेले बताएको छ। साथै एमालेले  प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीमाथिको अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कानुनको कार्यान्वयन गर्न र दोषीलाई कानुनको कठघरमा ल्याउन पार्टीले सहयोग गर्ने नीति रहेको बताए ।

‘हामी छानबिनमा सघाउँछौ,घटनाको गहिराइमा पुग्नुपर्छ भन्ने नै एमालेको प्रारम्भिक धारणा हो’, उपमहासचिव ज्ञवालीले छोटो प्रतिक्रिया दिँदै भने, ‘दोषीहरू जोसुकै भए पनि कारबाहीको दायरामा आउनुपर्छ ।’ उनले भने  भने,‘सरकारले पूर्वाग्रह नराखी अनुसन्धान गरोस्।’

उनले यस्ता घटनामा राजनीतिक रङ्ग दिने काम गर्न नहुने समेत बताए । ‘गल्ती भनेको गल्ती नै हो  राजनीतिक रङ्ग दिने काम गर्नु हुँदैन’ ज्ञवालीको भनाइ छ । उनले घट्नाबारे पार्टीले आन्तरिक रूपमा अध्ययन अनुसन्धान समेत गर्ने जानकारी दिए ।

नक्कली डकुमेन्टका आधारमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा जोडिएको भन्दै सचिव रायमाझीविरुद्ध बुधबार वारेन्ट जारी भएको थियो । उनलाई प्रहरीले बिहीबार भैरहवाबाट पक्राउ समेत गरिसकेको छ ।

यस प्रकरणमा बैठक बसेर थप धारणा सार्वजनिक गर्ने पनि उनले बताए। ‘यो प्रकरण आएपछि हामीले विस्तृत छलफल गर्न पाएका छैनौं,’ उनले थपे, ‘राज्यका निकायलाई सहयोग गर्ने नै हाम्रो नीति छ। यसमा प्रतिबद्ध छौं।’

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोप रायमाझीमाथि छ । उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको पनि भेटिएको छ । रायमाझीका छोरा सन्दीपलाई बुधवार नै प्रहरीले पक्राउ गरेको थियो । उनलाई आज अदालतमा पेश गर्ने तयारी गरिएको छ ।

यस्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापालाई पनि प्रहरीले खोजी गरिरहेको छ । प्रहरीले यही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई प्रहरीले पक्राउ गरिसकेको छ । यहि प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परिसकेका छन्।

बिहीबार २१ बैशाख २०८० ११:५३ AM मा प्रकाशित

प्रतिक्रिया