×

यो अधिकार हाम्रै संघर्षको परिणाम हो-प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताएका छन्।

आदिबासी जनजाति आयोगले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिबासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘हामीले संविधानसभाबाट नयाँ संविधान बनाउने क्रममा विभिन्न संवैधानिक आयोगहरुका बारेमा गम्भीर रुपमा छलफल गरेका थियौं। गम्भीर छलफलपछि हामी आदिवासी, महिला, दलित, मुस्लिम लगायतका आयोग बनाउने निष्कर्षमा पुगेका हौँ। यो सानो संघर्ष र बलिदानीबाट प्राप्त भएको होइन।’

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलूक हो। सबै वर्ग, जाति र समुदायलाई समान अवसर र प्रतिनिधित्व गराएर मात्र आन्तरिक राष्ट्रियता बलियो बनाउन सकिन्छ’ प्रधानमन्त्रीले भने, ‘राज्यका सबै अंगमा समावेशी प्रतिनिधित्व भएको छ। यद्यपि, यो पूर्ण छैन। तर, यो निकै महत्वपूर्ण कुरा हो। यसलाई अझै समावेशी र पूर्ण समानुपातिक बनाउने छलफल चलि नै रहेको छ। त्यसका लागि हाम्रो प्रयास जारी रहनेछ।’

‘महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख हुनुमा मलाई गर्व छ। यो अधिकार हाम्रै संघर्षको परिणाम हो। एकीकृत र केन्द्रिकृत राज्यले अपमान र विभेदमा पारिएका समुदायको पक्षमा लड्दै आएको छु। भोलि पनि लड्नेछु। कुन पार्टीबाट को आए भन्ने कुरा मेरा लागि खास अर्थ राख्दैन। जुन पार्टीबाट आए पनि हाम्रो मुद्दाका कारण आउनुभएको छ, हाम्रो आन्दोलनका कारण आउनुभएको छ’ प्रधानमन्त्रीले भने।

शनिबार २१ माघ २०७९ ०८:४७ PM मा प्रकाशित

प्रतिक्रिया