×

आजदेखि राजनीतिक दल तथा उमेदवारले जुलुस र चुनावीसभा गर्न पाउने

images

काठमाडौं । राजनीतिक दल तथा उमेदवारले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । राजनीतिक दलहरूले आजबाट सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राजनीतिक दलले मंसिर १ गतेसम्म यस्ता कार्यक्रम गर्न पाउने छन् ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।

उक्त दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ ।

जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने र कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने आचारसंहितामा उल्लेखित व्यवस्था रहेको आयोगले जनाएको छ । 

साथै आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका  सन्दर्भमा सरकारलाई ७ बुँदे निर्देशन दिएको छ । चुनाव स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गराउन आयोगले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका सम्बन्धित निकायहरूमा सहजीकरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सात बुँदे निर्देशन दिएको हो ।

आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ ।

बिहीबार १७ कात्तिक २०७९ ०८:४६ AM मा प्रकाशित

प्रतिक्रिया