×

"मुलुकमा केही भएन भन्नु इतिहास र तथ्यविरुद्ध छ, व्यवस्था उल्ट्याउने दुस्प्रयास भइरहेका छन्" : प्रचण्ड

images

१७ असोज, काठमाडौँ – नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि केही पनि भएको छैन भनी योजनाबद्ध रूपमा खडा गर्न खोजिएको नकारात्मक भाष्य इतिहास र तथ्यसँग मेल नखाने बताएका छन् । शनिबार काभ्रे जिल्ला एकता बैठकलाई विशेष सम्बोधन गर्दै संयोजक प्रचण्डले राजनीतिक परिवर्तनदेखि भौतिक विकास निर्माणसम्म देशले हासिल गरेका ऐतिहासिक उपलब्धिहरूलाई इतिहासबाट नामेट पारेर कसैले पनि नयाँ कथा र भ्रमपूर्ण भाष्य सिर्जना गर्न नसक्ने स्पष्ट पारेका हुन् ।

मुलुकको भू-राजनीतिक र आन्तरिक अवस्था तीव्र गतिमा बदलिरहेको औंल्याउँदै उनले अब पुरानै परम्परागत शैली र शैलीगत दृष्टिकोणबाट राजनीतिक तथा सामाजिक चुनौतीहरूको सामना गर्न नसकिने तर्क गरे । गणतन्त्रका उपलब्धिका विषयमा वस्तुनिष्ठ समीक्षा गर्न आवश्यक रहेको स्वीकार गर्दै उनले आफ्ना कमी-कमजोरीहरू सुधार्दै क्रान्तिकारी रूपान्तरणको बाटोमा अघि बढ्नुको विकल्प नरहेको औंल्याए ।

सम्बोधनका क्रममा प्रचण्डले पछिल्लो समय मुलुकको राजनीतिक स्थायित्व, राष्ट्रिय स्वाधीनता र जनताले प्राप्त गरेका अधिकारहरूमाथि चौतर्फी प्रहार भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे । उनले भने, “गत वर्ष भदौ २४ गतेको प्रतिगामी विध्वंसपछि देश सहज अवस्थामा अघि बढिरहेको छैन। देशलाई चौतर्फी रूपमा घेराबन्दी गरेर असाधारण संकटतर्फ धकेल्ने अनेकौँ दुस्प्रयासहरू भइरहेका छन्।”  यस्तो जटिल परिस्थितिमा संविधान र व्यवस्थाको रक्षाका लागि सबै परिवर्तनकारी शक्तिहरू अझ दृढतापूर्वक संघर्षमा उत्रिनुपर्ने अवस्था आएको उनको भनाइ थियो।

गणतन्त्र आएपछि देश र जनताले केही पाएनन् भनी जनतामा निराशा छर्न खोज्ने तत्वहरूको कडा प्रतिवाद गर्दै प्रचण्डले तथ्यका आधारमा मूल्याङ्कन गर्न आग्रह गरे। उनले लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नै मध्यपहाडी लोकमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको र हुलाकी राजमार्गको कामले गति लिएको उनले बताए ।

कृषिलाई मुख्य आधार बनाएर त्यसमै आधारित उद्योगहरू स्थापना गर्न सके मात्र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण सम्भव हुने उनले प्रष्ट पारे । अहिलेको युग सूचना प्रविधिको भएकाले नेपालले पनि आईटी क्षेत्रलाई पूर्ण रूपमा आत्मसात गरी रोजगारी सिर्जना र आर्थिक क्रान्तिको हतियार बनाउनुपर्नेमा जोड दिए ।

वर्तमान व्यवस्था र संविधानका आधारभूत स्तम्भहरू जस्तै– धर्मनिरपेक्षता, संघीयता, समावेशिता र समानुपातिक प्रतिनिधित्व उल्ट्याउने प्रपञ्च भइरहेको भन्दै प्रचण्डले यसलाई 'खतराको घन्टी' को रूपमा लिनुपर्ने बताए। उनले प्रतिगामी शक्तिहरूको सल्बलाहटलाई रोक्न र देशलाई संकटबाट बचाउनका लागि सच्चा कम्युनिस्ट शक्तिहरूबीच पार्टी एकता र सहकार्य अपरिहार्य भइसकेको उल्लेख गरे। उनले सिंगो पार्टी पंक्तिलाई जनताको घरदैलोमा पुगेर गणतन्त्रका वास्तविक उपलब्धिहरूबारे सुसूचित गर्न र संगठन सुदृढीकरणमा लाग्न निर्देशनसमेत दिएका छन्।

शनिबार १७ असोज २०८३ ०६:४९ PM मा प्रकाशित

प्रतिक्रिया