×

घिसिङको प्रधानमन्त्रीलाई सुझाव : 'विशेष प्रविधि चाहिन्न, स्थलसम्म उपकरण पुर्‍याए उद्धार सहज'

images

काठमाडौँ — उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले जलविद्युत् आयोजनाको सुरुङमा फसेका मानिसहरूको उद्धारका लागि कुनै छुट्टै वा विशेष प्रविधि आवश्यक नपर्ने बताएका छन्। भदौ १० गतेको भोटेकोसी बाढीले पुर्‍याएको क्षतिका विषयमा बिहीबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँगको भेटवार्ताका क्रममा घिसिङले उक्त कुरा बताएका हुन्।

उज्यालो नेपाल पार्टीका पदाधिकारीहरूसहित सिंहदरबार पुगेका घिसिङले बाढीग्रस्त क्षेत्रमा आफूले प्रत्यक्ष देखेका समस्या र तिनको समाधानका उपायहरूसहितको सुझाव प्रधानमन्त्री शाहलाई बुझाएका छन्।

भेटका क्रममा प्रधानमन्त्री शाहले जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका श्रमिक तथा व्यक्तिहरूको उद्धारबारे विशेष चासो राखेका थिए। प्रधानमन्त्रीको जिज्ञासाको जवाफ दिँदै घिसिङले उद्धारका लागि मुख्य चुनौती भनेकै घटनास्थलसम्म उपकरण पुर्‍याउनु रहेको उल्लेख गरे।

"विशेष प्रविधि भन्ने केही हुँदैन, कामैले गर्ने हो। मुख्य कुरा घटनास्थलमा आवश्यक उद्धार टोली र पर्याप्त उपकरणहरू पुर्‍याउनु हो," घिसिङले भने, "त्यहाँ जमेको गेग्रान र ढुंगा हटाउन सके उद्धार प्रभावकारी हुन्छ।"

सो अवसरमा प्रधानमन्त्री बालेन शाहले सुरुङमा फसेकाहरूको उद्धारका लागि देशभित्र उपलब्ध सबै स्रोतसाधन परिचालन गरिने र आवश्यक परे विदेशबाट समेत प्रविधि तथा उपकरण झिकाएर उद्धार कार्यलाई तीव्र बनाइने प्रतिबद्धता जनाएका छन्।

बिहीबार १८ भदौ २०८३ १२:५३ PM मा प्रकाशित

प्रतिक्रिया