×

फिल्म ‘वरिष्ठ बलराम’ का दुई पोस्टर र टिजरमा दयाहाङ र विजय बरालको नोक-झोक

images

काठमाडौं । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘वरिष्ठ बलराम’ को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले एकसाथ दुईवटा पोस्टर र पहिलो झलक सार्वजनिक गरेको हो ।

पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बरालले मुख्य स्थान पाएका छन् । बाँकी अन्य कलाकार पनि फिचर्ड छन् । एउटा पोस्टरमा भने दयाहाङ र विजय मात्रै छन् । रातो सुट र सर्ट–पाइन्टमा ठाँटिएका छन्, दयाहाङ । हातमा मोबाइल बोकेका उनी क्रुद्ध देखिएका छन् । विजय भने निरास देखिएका छन् ।

दोस्रो पोस्टरमा दयाहाङ र विजय दुवै सोचमग्न छन् । यो पोस्टरमा समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप कुमार चौधरी फिचर्ड छन् । उनीहरूलाई क्यारेक्टरमा देख्न सकिन्छ ।  

पोस्टरले चलचित्रको कथा के हो भन्नेमा कौतुहलता सिर्जना गरेको छ । तर, कथा केही पनि चुहाएको छैन । त्यस्तै सार्बजनिक गरिएको पहिलो झलकमा भने दयाहाङ राई र विजय बराल बिचको नोक-झोकलाइ प्रस्तुत गरिएको छ ।  यसले चलचित्र प्रतिको  उत्सुकतालाई बढाई दिएको छ ।

फिल्म ‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुँदैछ । पोस्ट प्रोडक्सनमा रहेको यो चलचित्र ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरीलगायत कलाकारको अभिनय छ ।

यो चलचित्र सुरेन्द्र पौडेलको चौथो निर्देशकीय सिनेमा हो । दृश्य सम्पादक समेत रहेका पौडेलले यसअघि ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका छन् ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् । वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् । कार्यकारी निर्मातामा प्रदीप जि धामी र पुस्कर बि घिमिरे छन् । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’ को छायाकंन चितवनका विभिन्न स्थानमा गरिएको हो ।

मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । प्रशान्त शिवाकोटी र विशेष पाण्डेयको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

टिजर लिंक-  https://youtu.be/WlhDSJdztXc

 

बुधबार १८ भदौ २०८२ ०८:२७ PM मा प्रकाशित

प्रतिक्रिया