×

वाट्सएपमा ‘नेपाली गर्ल’ एपको लिङ्क पठाएर खाताको पैसा चोर्ने कार्यमा संलग्न ८ जना पक्राउ

images

ललितपुर। प्रहरीले अनधिकृत रुपमा अरुको बैंक खाता नियन्त्रणमा लिएर रकम निकाल्ने गिरोहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले शुक्रबार पत्रकार सम्मेलन गर्दै वाट्सअपबाट बिभिन्न एप्लिकेसन डाउनलोड गर्न लगाउने र डाउनलोड गर्नेको मोवाइलमा रहेको बैंकिङ एपमा पहुँच पुराएर रकम निकाल्ने गिरोहलाई पक्राउ गरि सार्वजनिक गरेको हो।

उनिहरुले पठाउने म्यासेजमा  ‘के तपाई सेक्स पार्टनर खोज्नु भइरहेको छ, अब ढुक्क बस्नु’ ह्वाट्स एपमा आउने यस्तो म्यासेजमा थप भनिएको हुन्थ्यो,‘नेपाली गर्ल एप इन्स्टल गर्नुस् र सेक्स पार्टनर खोज्नुहोस् ।’

अपरिचित नम्बरहरूबाट आउने त्यस्तो म्यासेज पत्याएर ‘नेपाली गर्ल’ क्लिक गर्दा ह्वाट्स एप प्रयोगकर्ताहरूले करिब ५१ लाख गुमाएका छन् । अपरिचित नम्बरमा नेपाली गर्ल एप्स मार्फत कुरा गरेर मोबाइलको डेटा क्याप्चर गर्ने समूहलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार प्रदेश घर भएका अवधेश कुमार, सप्तरी कृष्णासवर गाउँपालिका घर भएका दिलीपकुमार चौधरी, पर्सा विन्दवासिनी बस्ने नगेन्द्र साह कानु, रौतहट रङपुर नगरपालिका घर भएका रविना चौधरी, बारा कोलबी नगरपालिका घर भएका सन्तोष कुवँर, पर्सा वीरगन्ज महानगरपालिका घर भएका राजु पटेल, साहिल परवेज र दिनेश राउत र शिवशङ्कर राउत रहेका छन्।

ललितपुर सातदोबाटो बस्ने हरि प्रसाद ढकालको नामको एनआइसी एसिया बैंकमा रहेका मोबाइल बैंकिङ खाताबाट रकम चोरी भएको उजुरीपछि अनुसन्धान गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाहले जानकारी दिए।

प्रहरीका अनुसार अभियुक्तहरुले वाट्सअपमा नेपाली गर्ल एपको लिङ्क पठाउने गरेका थिए। उक्त एप डाउनलोड गर्दा मोवाइलमा रहेको बैंकिङ एपमा पहुँच पुराएर रकम निकाल्ने गरिएको शाहले बताए।

उनीहरूको साथबाट बिभिन्न कम्पनीको ९ थान मोबाइल, १ थान ल्यापटप र ५ थान एटीएम कार्ड पनि बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले मोवाइल एपबाट ठगिनेहरुको उजुरी आइरहेको र थप अनुसन्धान भइरहेको बताएको छ।

शुक्रबार​ २० माघ २०७९ ०९:२४ PM मा प्रकाशित

प्रतिक्रिया