×

सडकमै तरकारी फ्याँकेर किसानको विरोध प्रदर्शन

images

चितवन । स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानहरुले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका छन् ।

उनीहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै नारायणगढ पुल्चोकमा गोलभेडा, काउली, बन्दा, पर्वर लगायतका तरकारी फालेर आन्दोलन गरे ।  तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले पूर्व-पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन्।

स्थानीय उत्पादन नै पर्याप्त भइरहेको समयमा भारतबाट आयात बढेको भन्दै किसानहरू आक्रोशित छन्। विरोधको नेतृत्व गरेका किसान लेखनाथ भुसालले भारतबाट आयात गरिएको तरकारीका कारण स्थानीय किसानले गरेको उत्पादन बिक्री हुन छाडेको बताए। उनले सरकारले आफूहरुको समस्या पटक्कै नसुनेको गुनासो गरे । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न कत्ति पनि सरकारले सहयोग नगरेको भुसालले बताए ।

तरकारी बोक्ने सवारी साधनसहित जम्मा भएका किसानहरुले बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिँदैन भन्दै प्लेकार्ड र ब्यानर बोकेका थिए । लागत अनुसारको तरकारीको मूल्य सरकारले तोक्नुपर्ने र भारतीय तरकारीको आयात रोक्नुपर्ने माग उनीहरुले गरे । उनिहरुले देशमै केही गरौं भनेर कृषिमा लगानी गरेका युवाहरूलाई सरकारले निराश पारेको बताए।

शुक्रबार​ २० माघ २०७९ ०३:५६ PM मा प्रकाशित

प्रतिक्रिया