×

यातायात कार्यालयमा मन्त्री श्रेष्ठको ‘छड्के’- हामी हेरेर बस्दैनौं, हेरेर बस्ने हो भने हाम्रो काम छैन

images

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले एकान्तकुनामा रहेको यातायात कार्यालयको अनुगमन गरेका छन् । मंगलबार कार्यालय समय सुरू हुनासाथ मन्त्री श्रेष्ठ एकान्तकुना पुगेका थिए । छिटो र झन्झटरहित सेवा प्रवाहका लागि उनले कर्मचारीलाई निर्देशन दिएका छन् । साथै सेवाग्राहीसँग पनि पाइरहेको सेवा र गुनासोबारे पनि जिज्ञासा राखेका थिए । उनले सवारी चालक अनुमति पत्रका लागि भइरहेको लिखित तथा ट्रायल परीक्षाको पनि निरीक्षण गरेका छन् ।

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले यातायात व्यवस्थाको सेवा सुधारका लागि हस्तक्षेपकारी कार्ययोजना बनाउने बताएका छन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रेष्ठले यातायात व्यवस्था सुधारका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको बताए । उनले भने, ‘अहिलेको समस्या समाधान गर्ने, कमजोरी सच्याउने र सेवाग्राहीलाई छिटो सहज सेवा दिन के गर्नुपर्छ भनेर हस्तक्षेपकारी कार्ययोजना बनाउँदैछौं ।’

स्थलगत अवलोकन गरेर प्रत्यक्ष रुपमै समस्या जान्न अनुगमनमा आएको भन्दै उनले समयमा काम नहुने र कतिपय सन्दर्भमा असहज पीडा गरी सेवा प्राप्त हुने अवस्था अन्त्य गर्ने बताए । कतिपय समस्या समाधान गर्न डिजिटाइजेसनमा जाने र आवश्यक साधन स्रोत समेत उपलब्ध गराउने भन्दै श्रेष्ठले अघि भने, ‘केही समय मात्र पर्खिनुस् ।’

कति समय लाग्छ भन्ने प्रश्नमा उनले भने, ‘हामी हेरेर बस्दैनौं, हेरेर बस्ने हो भने हाम्रो काम छैन ।’उनले मन्त्रालय सम्हालेलगत्तै भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनियमितालाई कडाइका साथ रोक्नु पहिलो कर्तव्य भएको उल्लेख गर्दै भनसुन र घूस नखुवाई काम गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाएका थिए । उनले सोमबार पनि आफ्नो मन्त्रालयमा १० बजे कार्यालय उपस्थित नहुने कर्मचारीको तलब काट्ने चेतावनी दिएका थिए ।

मङ्गलबार १९ पुस २०७९ १२:५७ PM मा प्रकाशित

प्रतिक्रिया