×

विश्वकप फुटबल - समूह चरणका आज अन्तिम खेलहरु हुँदै

images

काठमाडौं । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज (शुक्रबार) बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘एच’ र ‘जी’ का अन्तिम खेलहरु हुन लागेका हुन् ।  आज हुने समूह ‘एच’ पहिलो दुई खेलहरुमा दक्षिण कोरियाले पोर्चुगलसँग खेल्नेछ । सोही समयमा हुने अर्काे खेलमा घानाले उरुग्वेको सामना गर्नेछ ।

यस्तै समूह जी मा रहेको ब्राजिल र क्यामरुन तथा स्वीजरल्याण्ड र सर्वियाबीचको खेल मध्यराति पौने १ बजे सुरु हुनेछ । आजको खेलपछि अन्तिम १६ अर्थात प्रिक्वाटरफाइनलमा पुग्ने सबै १६ टोलीको टुंगो लाग्नेछ । अहिलेसम्म १४ टोलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन् । समूह एदेखि समूह ईसम्मका विजेता र उपविजेताको छिनोफानो भइसकेको छ । यस्तै समूह जी बाट ब्राजिल तथा समूह एचबाट पोर्चुगलले पनि अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन् ।

 आजको खेलपछि अन्तिम दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् र अन्तिम १६ को समीकरण पनि पूरा हुनेछ । अहिलेसम्म सबै महादेशबाट अन्तिम १६ मा प्रतिनिधित्व भएको छ । जसमा युरोपबाट सबैभन्दा धेरै ७ टिम छन् । यस्तै अफ्रिकाबाट मोरक्को र सेनेगल, दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना, एसियाबाट अष्ट्रेलिया र जापान अनि उत्तर अमेरिकाबाट अमेरिकाले अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।

शुक्रबार​ १६ मंसिर २०७९ १०:५९ AM मा प्रकाशित

प्रतिक्रिया