×

धनगढीमा निषेधाज्ञा तोडेर स्थानीय र विद्यार्थीहरू प्रदर्शनमा

images

कैलाली । धनगढीमा ग्रेडरले ठक्कर दिँदा विद्यार्थीको मृत्यु भएपछि सुरु भएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि स्थानीय पनि आन्दोलित भएका छन् । ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरे पनि न्यायको माग गर्दै बिहानैदेखि प्रदर्शन थालिएको छ ।

निषेधाज्ञा लागु गरिएको घटनास्थल आसपासको क्षेत्रमा जम्मा भएका स्थानीय र विद्यार्थीले चेतनालाई न्याय माग्दै प्रदर्शन गरिरहेका छन् । घटनाले वृहत रूप लिएपछि बिहिबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको थियो।

निषेधाज्ञाबीचमै अहिले पनि धनगढीका केही स्थानमा प्रहरी प्रशासन विरूद्ध विद्यार्थीहरू नाराबाजी गर्दै प्रर्दशनमा उत्रिएका हुन्। उनीहरुले दोषीलाई कारवाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । बिहीबार बिहान धनगढी उपमहानगरपालिका–५ स्थित पिपलचौतारा नजिकै कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिंदा साइकलमा विद्यालय गइरहेकी १५ वर्षीया साउदको घटनास्थलमै मृत्यु भएको थियो ।

विद्यार्थीहरुले कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका थिए । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएपछि स्थानीय पनि आन्दोलित भएका हुन् । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै नाराबाजी गरेका थिए । घटनाको विरोधमा बालिका अध्ययनरत पञ्चोदय माध्यमिक विद्यालयका विद्यार्थीले बिहीबार दिनभर धनगढीमा प्रदर्शन गरेका थिए भने आन्दोलनकारी घटनास्थलबाट शव उठाउन दिएका थिएनन् ।

स्थानीय प्रशासनले बिहीबार साँझ घटनास्थल आसपासको क्षेत्रमा निषेधाज्ञा लागु गर्दै शव उठाएको थियो तर स्थानीयले भने उनको शव लैजाने क्रममा समेत नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

शुक्रबार​ १६ मंसिर २०७९ ११:३३ AM मा प्रकाशित

प्रतिक्रिया