×

सरकार आलोपालो चलाउने सहमति भएको छ- नेतृ रेखा शर्मा

images

काठमाडौँ- नेकपा माओवादीकी नेतृ रेखा शर्माले सत्तारुढ गठबन्धनभित्र नयाँ सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिएकी छन् । बुटवलमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सत्तारुढ गठबन्धनले नै नयाँ सरकार बनाउने दाबी गर्दै सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिएकी हुन् ।

कार्यक्रममा बोल्दै शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली काँग्रेसको प्रधानमन्त्रीमा दाबी रहनु स्वाभाविक भएको पनि बताएकी छिन् । उनले पार्टीबाट प्रधानमन्त्रीको लागि को आउने भन्ने निणर्य पार्टीको मात्रै भएको बताउँदै यसको विषयमा बाहिरबाट टिका टिप्पणी हुन आवश्यक नरहेको बताइन् ।

उनले माओवादी केन्द्र पनि गठबन्धनको दोस्रो ठूलो दल भएको बताउँदै पार्टीका अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेताहरुसँग छलफल गरेर प्रधानमन्त्रीको टुंगो लाग्ने बताइन् । उनले माओवादी केन्द्रले गठबन्धनमा कुनै घात नगर्ने प्रक्रिया दिँदै माओवादीलाई विश्वास गर्न आग्रहसमेत गरिन । नेतृ शर्माले पार्टीले मन्त्री पद दिए आफू जिम्मेवारी पूरा गर्न सक्षम रहेको बताइन् । नेतृ शर्माले लुम्बिनी प्रदेशको राजधानी तोक्ने विषयमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा भएपनि माओवादीको समर्थन र अग्रसरताले मात्रै सम्भव भएको बताइन् ।

उनले पोखरेलले राजधानी आफू र एमालेले लगेको श्रेय लिनु गलत भएको दाबी गरिन । पूर्वमन्त्रीसमेत रहेकी उनले राजनीतिक दलहरूले युवालाई पनि सम्मानजनकरूपमा अगाडि बढाउनुपर्ने सुझाव दिँदै युवाको जबर्जस्ती हस्तक्षेपभन्दा पनि नयाँ दृष्टिकोण र सोचका साथ अगाडि बढ्दा मुलुक सही मार्गमा जाने बताइन् ।


 

शुक्रबार​ १६ मंसिर २०७९ ०३:१० PM मा प्रकाशित

प्रतिक्रिया