×

चुनाव सकिएको १५ दिनभित्र खर्च विवरण पेश गर्न निर्वाचन आयोगको उम्मेदवारहरुलाई निर्देशन

images

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गरेरै छाड्ने बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त दिनेश थपलियाले आचारसंहिता उल्लंघन गर्ने ७१ जना व्यक्ति र संस्थालाई स्पष्टीकरण सोधेको जानकारी गराए ।

उनले भने, ‘स्पष्टीकरण सोधेपछि उहाँहरूले पेस गरेको जवाफको आधारमा कारवाही प्रक्रिया अघि बढाइसकेका छौँ । तथ्य र प्रमाण नपुगेको हकमा पुन बुझ्न हामी स्थानीय प्रशासनलाई बुझ्न भनेका छौँ । आचारसंहिता उल्लंघन प्रमाणित भए कारबाही गछौँ । त्यो आयोगको बैठक बसेर निर्णय गर्छ ।’ उनले प्रधानमन्त्री, मन्त्रीहरू आयोगको अनुमति लिएरमात्रै चुनावी प्रचारमा जान पाउने बताए । जनप्रतिनिधिले सरकारी सुविधा खर्च गर्न नपाउने थपलियाले प्रष्ट्याए ।

उनले भने, ‘सामाजिक सञ्जाल नियम र उपयोगको कुरा पनि उठायौँ । यो चुनौतीपूर्ण थियो । त्यसकारण अहिले आयोगले समाजिक सञ्जालमा आफ्ना कुरा राख्न पाउने र दलले विज्ञापन गर्न पाउने व्यवस्था गरेका छौँ । निर्वाचनको बेलामा निहित राजनीति स्वार्थ बोकेकाहरूबाट अभिव्यक्ति स्वतन्त्रतामाथि हनन् नहोस् भन्नेबारे आयोग सचेत छ ।’ निर्वाचन आयोगले आफ्नो चुनाव क्षेत्रमा सभा आयोजना गर्दा मञ्च बनाउँदा लागेको खर्च विवरण पेश गर्न उम्मेदवारलाई निर्देशन दिएको छ ।

आफ्नो चुनाव क्षेत्रमा भएको आमसभा वा कोणसभाका लागि मञ्च बनाउँदा लागेको खर्च चुनाव सकिएको १५ दिनभित्र पेश गर्न उम्मेदवारहरुलाई निर्देशन दिएको प्रमुख आयुक्त दिनेश थपलियाले बताए । 

उनले संघीय र प्रदेश सरकारका मन्त्रीले चुनाव प्रचार प्रसारमा जाँदा अनुमति लिनुपर्ने बताए । अनुमति लिएर चुनाव प्रचारमा गएकाहरुले सरकारी स्रोत साधन प्रयोग गरेको वा नगरेको निगरानी गर्ने पनि प्रमुख आयुक्त थपलियाले बताए । त्यस्तै सार्वजनिक पदमा रहेका व्यक्तिले चुनावी प्रचारप्रसारमा जाँदा सरकारी सवारी प्रयोग गर्न नपाइनेसमेत आयोगले जनाएको छ ।

प्रमुख आयुक्त थपलियाले भने, ‘नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीहरूले आयोगको सहमतिमा निर्वाचन प्रचारप्रसारमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले नेपालको संविधानले प्रदान गरेको नेपालको कुनै पनि भू-भागमा आवतजावत गर्न पाउने हकलाई रोकटोक गर्दैन । तर‚ सार्वजनिक पद धारण गरेका माननीय प्रधानमन्त्री‚ मन्त्री र प्रदेशमन्त्रीज्यूहरूले अनुमति लिएर जानसक्नुहुन्छ । त्यसरी जाँदा कुनै पनि सरकारी स्रोतसाधनको प्रयोग गर्न हुँदैन।’

त्यस्तै आयोगले यो निर्वाचनमा दल र उम्मेदवारले गरेको खर्चको अडिट गर्नेसमेत जनाएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई दण्ड‚ जरिवाना भने आयोगले नै निर्क्योल गर्ने उनले बताए । उम्मेदवारको निर्वाचनसम्बन्धी खर्च अरूले गर्न नपाइनेसमेत आयोगले स्पष्ट पारेको छ ।


 

बुधबार १६ कात्तिक २०७९ ०४:०१ PM मा प्रकाशित

प्रतिक्रिया