×

म्यादी प्रहरीको कपडा खरिदमा अनियमितताको आशङ्का, अध्ययन गर्न ९ सदस्यीय संसदीय उपसमिति गठन

images

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि आवश्यक कपडा तथा बन्दोबस्तीका सामान खरिद प्रक्रियामा अनियमितता भएको आशङ्कामा अध्ययन तथा छानबिन गर्न ९ सदस्यीय संसदीय उपसमिति गठन गरेको छ।

शुक्रबार बसेको लेखा समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाको संयोजकत्वमा उक्त अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो। उपसमितिमा विभिन्न राजनीतिक दलका सांसदहरू सदस्यका रूपमा रहेका छन्।

निर्वाचन प्रहरीका लागि कपडा तथा लत्ताकपडा खरिद गर्दा सार्वजनिक खरिद ऐनको उल्लङ्घन भएको, गुणस्तरहीन सामग्री उच्च मूल्यमा खरिद गरिएको र निश्चित ठेकेदारलाई फाइदा पुग्ने गरी प्रक्रिया अघि बढाइएको भन्दै समितिमा उजुरी परेको थियो।

उक्त खरिद प्रकरणमा आर्थिक अनियमितता र मिलेमतो भएको विषय सार्वजनिक भएपछि समितिले कागजात मगाएर अध्ययन थालेको थियो। गठित उपसमितिलाई तोकिएको समयसीमाभित्र खरिदसम्बन्धी सम्पूर्ण फाइल, बोलपत्र प्रक्रिया र कागजातको विस्तृत अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

प्रतिवेदन आएपछि दोषी ठहरिने अधिकारी तथा ठेकेदारमाथि कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा सम्बन्धित निकायमा सिफारिस गरिने समितिले जनाएको छ।

शुक्रबार​ १६ असोज २०८३ ०१:०३ PM मा प्रकाशित

प्रतिक्रिया