परासी, साउन १७ गते। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएपछि सीमा क्षेत्रमा गम्भीर तनाव उत्पन्न भएको छ। वर्षायाममा नारायणी नदीको भेलबाट बस्ती जोगाउन स्थानीयवासीले श्रमदानमार्फत निर्माण गरिरहेको १३२ मिटर लामो माटोको कच्ची बाँध भारतीय सुरक्षाकर्मीले बलपूर्वक भत्काएका हुन्।
नेपाल–भारत सीमा मानिएको सिमलको रुखबाट करिब ३०० मिटर नेपाली भूभागभित्र प्रवेश गरेर भारतीय पक्षले गरेको यस हस्तक्षेपको स्थानीयबासीले कडा प्रतिवाद गरेका छन्।
आइतबार दिउँसो करिब साढे ३ बजे १५ जना सादा पोसाकका र हतियारसहितका अन्य ६० जना गरी करिब ७५ जनाको संख्यामा भारतीय एसएसबी टोली नेपाली भूमिमा छिरेका थिए। नेपाली पक्षले बनाउँदै गरेको माटोको अस्थायी रक्षात्मक बाँधलाई भारतीय सुरक्षाकर्मीले डोजर प्रयोग गरी ध्वस्त बनाइदिएका छन्।
आफ्नै भूमिमा बनिरहेको बाँध भत्काउन थालेपछि सुस्ताबासीले होहल्ला गर्दै प्रतिकार गरेका थिए। विवादका क्रममा केही बेर दुई पक्षबीच भनाभन र तनाव बढेको थियो। घटना लगत्तै सम्भावित अप्रिय परिस्थिति रोक्न र सुरक्षा सुदृढ गर्न सशस्त्र प्रहरी बल (APF) को टोली घटनास्थलमा परिचालन गरिएको छ।
किन विवाद भइरहन्छ सुस्तामा ?
'सुस्ता बचाउ युवा अभियान'का अनुसार यसअघि जेठ र असार महिनामा पनि नारायणी नदीमा स्थायी तटबन्ध बनाउने नेपाली टोलीलाई भारतीय एसएसबीले दबाब दिएर काम रोक्न लगाएको थियो। स्पष्ट सीमा स्तम्भ (Border Pillar) को अभाव, नारायणी नदीले लगातार परिवर्तन गर्ने धार र भारतीय पक्षको पटक-पटकको हस्तक्षेपका कारण सुस्ता सधैं सीमा विवादको केन्द्र बन्दै आएको छ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले विवादित क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको र अहिले अवस्था सामान्य रहेको जानकारी दिएका छन्। भोलि (सोमबार) स्थानीय नागरिक, नेपाली सुरक्षा अधिकारी र भारतीय पक्षबीच यसबारे छलफल हुने कार्यतालिका छ।
प्रतिक्रिया