काठमाडौँ । भारतको कर्नाटकको विशेष अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेका जनता दल धर्मनिरपेक्ष (जेडीएस) का नेता तथा पूर्व सांसद प्रज्वल रेवन्नालाई आजीवन कारावासको सजाय सुनाएको छ ।
विशेष अदालतका न्यायाधीश सन्तोष गजानन भट्टले रेवन्नालाई आजीवन कारागारको सजाय सुनाएका हुन् । अदालतले रेवन्नालाई १० लाख रुपैयाँ जरिवाना गरेको छ भने र पीडितलाई ७ लाख क्षतिपूर्ति तिर्न पनि आदेश दिएको छ ।
अदालतले शुक्रबार रेवन्नालाई दोषी ठहर गरेको थियो । रेवन्नाले आफूले कुनै गल्ती नगरेको दाबी गर्दै कम सजायको लागि अदालतमा अपील गरेका थिए ।
रेवन्नाविरुद्ध बलात्कारका चार मुद्दा दर्ता रहेका छन् । यो मुद्दा हसन जिल्लामा रहेको रेवन्ना परिवारको गन्निकाडा फार्महाउसमा घरेलु कामदारको रूपमा काम गर्ने ४८ वर्षीया महिलासँग सम्बन्धित छ ।
पूर्व प्रधानमन्त्री एचडी देवेगौडाका नाति रेवन्नालाई २०२१ मा हसनस्थित उनको फार्महाउस र बैंगलोरस्थित उनको घरमा दुई पटक बलात्कार गरेको आरोपमा दोषी ठहराइएको थियो । उनले उक्त कार्य आफ्नो मोबाइल फोनमा पनि रेकर्ड गरेको र यो कुरा कसैलाई भनेमा भिडियो लीक गर्ने धम्की पनि दिएका थिए ।
अभियोजन पक्षले २६ साक्षीहरूको बयान लिएको थियो र १८० कागजातहरू पेश गरेको थियो । मुख्य प्रमाण पीडितको थियो, जुन धेरै विश्वसनीय थियो । मुद्दाको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान टोलीले सेप्टेम्बर २०२४ मा १,६३२ पृष्ठको आरोपपत्र दायर गरेको थियो। यसमा ११३ साक्षीहरूको बयान समावेश थियो ।
अप्रिल २६, २०२४ मा हसनमा हुने लोकसभा चुनाव अघि प्रज्वल रेवन्नासँग सम्बन्धित कथित अश्लील भिडियोहरू भएका पेन-ड्राइभहरू प्रसारित भएको आरोपमा मुद्दाहरू प्रकाशमा आए । जर्मनी भागेका रेवन्ना गत वर्ष मे ३१ मा एयरपोर्टबाट पक्राउ परेका थिए ।
प्रतिक्रिया