काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई आणविक पनडुब्बीहरूलाई 'उपयुक्त स्थानहरूमा तैनाथ' गर्न आदेश दिएको बताएका छन् । पूर्व रूसी राष्ट्रपति दिमित्री मेदवेदेवको 'उत्तेजक' बयानको प्रतिक्रियामा उनले यो कदम चालेका हुन् ।
ट्रम्पले भनेका छन्- 'पूर्व रूसी राष्ट्रपति र हाल रूसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवको अत्यन्तै उत्तेजक बयानको आधारमा, मैले दुई आणविक पनडुब्बीहरूलाई उपयुक्त स्थानहरूमा तैनाथ गर्न आदेश दिएको छु ।'
ट्रम्पले भने- 'यो सावधानीका रूपमा गरिएको हो, किनभने यो सम्भव छ कि यी गैरजिम्मेवार र उत्तेजक बयानहरू केवल शब्दहरूमा मात्र सीमित नहुन सक्छन् । शब्दहरूले धेरै अर्थ राख्छन् र कहिलेकाहीं अवांछित परिणामहरू निम्त्याउन सक्छन्। आशा छ कि यस पटक यो हुनेछैन ।'
ट्रम्पले पनडुब्बीहरू कहाँ तैनाथ गरिएको छ भनेर बताएका छैनन् । यो जानकारी अमेरिकी सेनाको प्रोटोकल अन्तर्गत गोप्य राखिएको छ ।
हालै, मेदवेदेवले ट्रम्पको चेतावनी पछि अमेरिकालाई धम्की दिएका थिए । २००८ देखि २०१२ सम्म रुसका राष्ट्रपति रहेका मेदवेदेवले यस हप्ताको सुरुमा ट्रम्पलाई 'रूससँग अल्टिमेटम खेल खेलेको' आरोप लगाएका थिए ।
मेदवेदेवले हरेक नयाँ अल्टिमेटम भनेको धम्की र युद्धतर्फको कदम भएको बताएका थिए । जुलाईको सुरुमा, उनले ट्रम्पको अल्टिमेटमलाई 'नाटकीय' भनेका थिए भने रूसले यसलाई वास्ता नगर्ने बताएका थिए ।
यस विषयमा रुसले अहिलेसम्म कुनै सार्वजनिक टिप्पणी गरेको छैन, तर ट्रम्पको बयानपछि रुसी शेयर बजारमा तीव्र गिरावट आएको छ । ट्रम्पले मेदवेदेवको भनाइमा प्रतिक्रिया जनाउदै रूसको असफल पूर्व राष्ट्रपति, जो अझै पनि आफूलाई अहिले पनि राष्ट्रपति ठान्ने गरेको टिप्पणी गरेका छन् ।
मेदवेदेवले २०२२ मा सुरु भएको युक्रेनमा रूसको ठूलो मात्रामा आक्रमणलाई समर्थन गर्छन् र पश्चिमी देशहरूको कडा आलोचक रहेका छन् ।
प्रतिक्रिया