×

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, आज ‘निर्णायक’ छलफल हुने

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकपछि संसदीय दलको बैठक पनि बस्ने भएको छ । बिहीबार दिउँसो ३ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको र सो बैठक सकिएसँगै संसदीय दलको बैठक बस्ने तय भएको प्रवक्ता मुकुलले जानकारी दिए ।  

उक्त बैठकमा मन्त्रीहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ । रास्वपाबाट हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की छन् ।

सभापति रवि लामिछानेलाई गृह मन्त्रालयमा फर्काउन चाहेको रास्वपाले प्रधानमन्त्री प्रचण्ड त्यसमा सकारात्मक नभएपछि असन्तुष्टि जनाएको छ ।
अब सरकारमै सहभागी हुने या बाहिरिने भन्नेबारे केन्द्रीय समिति बैठकले आवश्यक निर्णय गरेर संसदीय दलले पनि सोही अनुसार अनुमोदन गर्ने तयारी भएको छ । 

रास्वपाले सांसदहरुलाई बैठकका लागि खबर पठाइसकेको छ । हाल सांसदहरु संसद् भवनमा प्रशिक्षण कार्यक्रममा रहेको र सो कार्यक्रम सकिएपछि बैठकमा सहभागी हुने बताइएको छ मन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दबाव दिइरहेका छन् ।

तर प्रधानमन्त्रीले नागरिकता प्रकरणमा सर्वोच्च अदालतले सुनाएको फैसलाको पूर्णपाठ नआएको र राहदानीसम्बन्धी विवाद पनि रहेकाले गृह मन्त्रालय दिन नसक्ने सन्देश रविलाई दिएका छन् ।

तर रास्वपाले सरकार निर्माणका क्रममा भएको सहमति अनुसार गृह मन्त्रालय आफूहरुलाई दिनुपर्ने अडान राखेको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनीसमेत रास्वपाले दिएको छ । अध्यक्ष लामिछानेले आज पनि बालुवाटार पुगेर प्रचण्डलाई भेटेका थिए । हिजो गृहमन्त्री बनाउने झिनो आश्वासन पाएर आशावादी बनेका लामिछाने आजको भेटपछि भने निराश बनेका छन् । उनले सामाजिक सञ्जालमा लेखेको स्टाटसले पनि त्यही संकेत गर्छ । आफ्नो मौनता आजको दिनसम्ममात्र भएको उनले लेखेका छन् ।
 
 

बिहीबार १९ माघ २०७९ ०२:५४ PM मा प्रकाशित

प्रतिक्रिया