×

टी-२० क्रिकेटमा भारतले रच्यो इतिहास

images

काठमाडौं । सुभमन गिलको शतकमा न्युजिल्यान्डमाथि १६८ रनको सहज जित निकाल्दै भारतले तीन खेलको टी–ट्वान्टी सिरिज २–१ ले जितेको छ । अहमावादमा भारतले दिएको २३५ रनको बलियो लक्ष्य पछ्याएको न्युजिल्यान्डले १२ ओभर १ बलमा अलआउट हुँदै मात्र ६६ रन बनायो । यो, टी-२० क्रिकेटमा रन अन्तरको हिसाबले भारतको सबैभन्दा ठूलो जित हो ।

सबैभन्दा बढी रनको जितको रेकर्ड यसअघि १४३ थियो । भारतले सन् २०१८ मा आयरल्याण्डलाई १४३ रनले हराएको थियो । यसपटक न्युजिल्याण्डलाई हराउँदै भारतले टी-२० सिरिज पनि २-१ ले जितेको छ । राँचीमा भएको सिरिजको पहिलो म्याच न्युजिल्याण्डले २१ रनले जितेको थियो । लखनउमा खेलिएको दोस्रो म्याचमा भारत ६ विकेटले विजयी भएको थियो ।

अहमदावादको नरेन्द्र मोदी स्टेडियममा भएको अन्तिम खेलमा भारतका शुभमन गिल हिरो सावित भए । उनले ६३ बलमा १२६ रन बनाए । यो गिलका लागि अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा पहिलो शतक पनि हो । शुभमन गिलका अलावा राहुल त्रिपाठीले २२ बलमा ४४ र कप्तान हार्दिक पाण्ड्याले १७ बलमा ३० रन जोडे ।

भारतले न्युजिल्याण्ड सामु २३५ रनको लक्ष्य पेश गरेको थियो । जवाफी ब्याटिङको क्रममा पाहुना टोली न्युजिल्याण्डले खराब सुरुवात गर्‍यो । उसले चार विकेट गुमाउँदा जम्मा सात रन बनाएको थियो । न्युजिल्याण्डको टिम १२.१ ओभरमा ६६ रनमा अलआउट भयो ।

भारतका लागि सबैभन्दा बढी विकेट कप्तान हार्दिक पाण्ड्याले लिए । उनले आफ्नो चार ओभरमा १६ रन खर्चिएर चार विकेट लिए । यसैगरी अर्शदीप सिंह, उमरान मलिक र शिवम माविले दुई-दुई विकेट लिए ।

बिहीबार १९ माघ २०७९ ११:४६ AM मा प्रकाशित

प्रतिक्रिया