×

मुक्तक 

images



रुढी चलन,सङ्कीर्ण विचार बदलियो कि बदलिएन
लैङ्गिक विभेद अनि व्यवहार बदलियो कि बदलिएन
प्रश्न छ एउटा मेरो समावेशीकरण खन्याउँछु भन्नेलाई
पितृसत्तात्मक हाम्रो संस्कार बदलियो कि बदलिएन ?

२ 
दुश्मन भन्छन् नाम जपिरहेका छन् खुसी लागिहाल्छ नि
मेरा क्रियाकलाप खपिरहेका छन् खुसी लागिहाल्छ नि
कहाँ कसरी निभ्छ र अस्तित्व ? म त झन् बलिरहेको छु
हौसलाको तेल थपिरहेका छन् खुसी लागिहाल्छ नि ।


विसङ्गत वर्तमानले रेटिएको के कुरा गर्नु हो
कमजोर निर्बलमा समेटिएको के कुरा गर्नु हो
म जवाफ दिनेवाला छैन, हालखबर सोधेपनि
आफूबाट स्वयं म लखेटिएको के कुरा गर्नु हो।


बिना चक्काको गाडी गुडिन्न - थाहा छ कि छैन ?
निकालेर प्वाँख पखेटा उडिन्न - थाहा छ कि छैन ?
ए, विश्वासको सम्बन्ध भत्काउन आउने ब्वाँसाहरू,
साँचो मित्रता चुँडालेर चुडिन्न - थाहा छ कि छैन ?

                                                 रेहित सैजु


 

बिहीबार १५ मंसिर २०७९ ०३:४५ PM मा प्रकाशित

प्रतिक्रिया