×

मेला महोत्सव रोक्न माग गर्दै तुलसीपुर उपमहानगरपालिका कार्यालयमा तालाबन्दी

images

दाङ । मेला महोत्सव रोक्न माग गर्दै तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । आजदेखि युथ्स अफ तुलसीपुरले तुलसीपुर–६ हात्तीखौवामा मेला लगाउने तयारी गरिरहेको समयमा  त्यसको  विरोधमा वाणिज्य संघका पदाधिकारीले उपमहानगरपालिकामा तालाबन्दी गरेका हुन्। तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले कोरोनाले व्यापार व्यवसाय थलिएको बेला मेला महोत्सव गर्न नमिल्ने बताए ।

उनले अहिले महोत्सव गर्ने उपयुक्त समय नभएको भन्दै महोत्सवको विरोधमा कार्यालयमा तालाबन्दी गरेको बताए । मेला महोत्सव नरोकेसम्म आफूहरुको आन्दोलन जारी रहने उनको अडान छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वली आएपछि मध्यान्ह १२ बजेतिर उपमहानगरपालिकामा लगाइएको ताला खोलेर वार्ता सुरू भएको छ। मेलाका सामान फिर्ता नभएसम्म र मेला नरोकिएसम्म अनिश्चितकालीन बजार बन्दको कार्यक्रम जारी रहने वाणिज्य संघका पदाधिकारीले बताएका छन्। 

अहिले पनि मेलाका विरोधमा उत्रिएका व्यवसायी तथा उद्योग वाणिज्य संघका पदाधिकारीहरूले उपमहानगरपालिकामा घेराउ तथा धर्ना जारी राखेका छन्। व्यापारीहरू कालोपट्टि बाँधेर 'नो मेला' भन्ने स्टिकर टाँसेर विरोध तथा धर्नामा बसेका छन्।

बिहीबार १५ मंसिर २०७९ ०२:०८ PM मा प्रकाशित

प्रतिक्रिया