×

जो झिनो मतान्तरले पराजित भए

images

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा केही उम्मेदवार झिनो मतले पराजित भए भने केही निकटतम प्रतिद्वन्द्वीले भन्दा दोब्बर मत बढी पाएर विजयी भए ।

यसपटक हारजितमा करिब ५० देखि ३४ हजार बढीसम्मको मतान्तर देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग टक्कर लिन डडेल्धुरा पुगेका सागर ढकालदेखि सञ्चारमाध्यम छाडेर राजनीतिक दल खोलेका रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीको पनि निकै चर्चा चल्यो ।

प्रदेश १ को ताप्लेजुङबाट योगेशकुमार भट्टराईले झिनो मतान्तरले चुनाव जिते । उनले २१ हजार ९४३ मत पाए। निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री २१ हजार सात सय ५३ मत पाए । यो हारजितमा एक सय ५३ मतान्तर छ ।

लुम्बिनी प्रदेशको दाङ-२ मा माओवादी केन्द्रकी रेखा शर्मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्न सफल भइन् । रेखा २६ हजार आठ सय ८० मतसहित विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी पोखरेलले २६ हजार ६ सय ८७ मतमा सीमित भए । यो हारजितमा एक सय ९३ मतान्तर छ।

पाँचथरबाट एमालेका वसन्तकुमार नेम्वाङ ३२ हजार एक सय १० मत पाएर विजयी भए। उनले ४७ मतान्तरले जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेले ३२ हजार ६३ मत पाए ।

काठमाडौं-१ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह ७ हजार एक सय ४३ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका रवीन्द्र मिश्रले ७ हजार १८ मत ल्याएर हारे । काठमाडौं १ मा मतगणनाका क्रममा निकै रोचक प्रतिस्पर्धा भएको थियो। अन्तिममा एक सय २५ मतले मिश्रले हारे । नागरिक दैनिकबाट

बिहीबार १५ मंसिर २०७९ ०८:११ AM मा प्रकाशित

प्रतिक्रिया