×

आज सर्वदलीय बैठक

images

काठमाडौं। संघीय संसद् सचिवालयले संसद्को अधिवेशन आह्वान भएसँगै त्यसको तयारीका लागि आज सर्वदलीय बैठक बोलाएको छ। संसद्मा प्रतिनिधित्व गरेका सबै दललाई आज अपराह्न १ः०० बजे सर्वदलीय बैठकका निम्ति आमन्त्रण गरिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही चैत १६ गतेको सिफारिसअनुसार यही चैत १९ गते अपराह्न २ः०० बजे संघीय संसद्का दुबै सदनको अधिवेशन आह्वान गरेका छन्। सोही अनुसार संसद्को पहिलो बैठक यही चैत १९ गते अपराह्न २ः०० बजे हुँदैछ।

बैठकले सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने छ। बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन्। प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन्।

नयाँ प्रतिनिधिसभामा ६ दलले राष्ट्रिय मान्यता पाएका छन् भने एक स्वतन्त्र सांसद निर्वाचित भएका छन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठुलो दल बनेको छ भने नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन्। श्रम संस्कृति पार्टी पहिलो पटक संसद् प्रवेश गर्दै पाँचौँ दल बनेको छ।

यसैबीच संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको पहिलो बैठकका लागि सम्भावित कार्यसूची पहिचान गरेको छ। सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्ने, दलका नेताहरूले सम्बोधन गर्ने तथा सभामुख-उपसभामुख निर्वाचन प्रक्रिया अघि बढाउनेलगायत एजेण्डा समावेश गरिएका छन्।

निर्वाचनपछि बस्न लागेको पहिलो बैठकको तयारीस्वरूप सचिवालयले बुधबार सर्वदलीय बैठक आह्वान गरेको छ। कार्यव्यवस्था परामर्श समिति गठन भइनसकेको अवस्थामा सबै दलको सहभागितामा यस्तो बैठक बोलाइएको हो।

प्रवक्ता गिरीका अनुसार सर्वदलीय बैठकले पहिलो बैठक सञ्चालनको प्रक्रिया, प्रारम्भिक एजेण्डा चयन तथा कार्यतालिका व्यवस्थापनबारे सहमति जुटाउनेछ। साथै, प्रतिनिधिसभा नियमावलीसम्बन्धी विषयमा पनि छलफल गरिनेछ, किनभने नियमावली बिना संसद सञ्चालन सम्भव हुँदैन।

पहिलो बैठकमा सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारले जारी गरेका तीन अध्यादेश पेश गरिनेछन् भने संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची पनि रहनेछ।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुखको निर्वाचन पहिलो बैठक बसेको १५ दिनभित्र सम्पन्न गर्नुपर्ने भएकाले यस विषयलाई पनि प्राथमिकतामा राखिएको छ।

यसैबीच, सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय हल पूर्ण नहुँदा सभा सञ्चालनमा केही चुनौती रहेको बताइएको छ। दर्शक तथा सञ्चारकर्मीका लागि आवश्यक व्यवस्थासमेत पूर्ण नभएको सचिवालयले जनाएको छ।

प्रतिनिधिसभा नियमावली पारित भएपछि कार्यव्यवस्था परामर्श समिति तथा विषयगत समितिहरू गठन गर्ने प्रक्रिया अघि बढ्नेछ।

बुधबार १८ चैत २०८२ ०८:५१ AM मा प्रकाशित

प्रतिक्रिया