काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले अहिले काठमाडौंमा महानगरको आतंक मच्चिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले यस्तो टिप्पणी गरेका हुन् । काठामाडौं महानगरपालिकाका मेयर बालेन शाहतर्फ संकेत गर्दै साहले भने, ‘काठमाडौंमा महानगरको आतंक चलेको छ । सडकमै स्वरोजगार मजदुरहरु कुटिन्छन् । कवाडी व्यवसायीहरुमाथि डोजर चलाइएको छ । कतै सुकुम्बासीहरुलाई आतंकित बनाईएको छ । महानगरपालिकामाथि कानून लाग्छ कि लाग्दैन् ? यदि लाग्छ भने सरकारले महानगरपालिकालाई नियमन गरोस् भनेर म आग्रह गर्न चाहन्छु । अहिले कवाडी व्यवसायीहरु महानगरबाट आतंकित छन् । उनीहरु असुरक्षित छन् । उनीहरु त्रसित छन् । हरेक व्यक्तिले व्यापार तथा व्यवसाय गर्न पाउँछ, यो उसको संवैधानिक हक हो । त्यसको रक्षा राज्यले गर्ने हो कि होईन ?’ उनले कवाडी व्यवसायीहरुको सुरक्षाको प्रत्याभुति गर्नको लागि गृहमन्त्रालयको ध्यानाकार्षण समेत गराए ।
कसैलाई पनि गैरकानूनी ढंगले आफ्नो पेशा तथा व्यवसायबाट बञ्चित गर्न नमिल्ने साहको तर्क छ । ‘आज काठमाडौं महानगरपालिकाले कवाडी व्यवसायीहरुलाई मनोमानी ढंगले आतंक सिर्जना गरेर दुःख दिने काम गरेको छ । जबरजस्ती भगाउने काम भएको छ । लाखौंलाई बेरोजगार बनाउने प्रयास भएको छ’ साहले भने, ‘सरकारले बेरोजगारलाई रोजगारी दिने र रोजगारीलाई व्यवस्थित बनाउँने हो तर यहाँ महानगरले गैरकानूनी रुपमा आतंकित गरिएको छ ।
’ घर–घरका काम नलाग्ने कवाडीहरु व्यवसायीहरुले किनेर काठमाडौंलाई सफा, स्वच्छ बनाउँनमा सहयोग गरेको बताउँदै उनले ति व्यवसायीलाई सरकारले सम्मान गर्नुपर्ने बताए । ‘यहाँ भ्रष्टहरु सम्मानित भईरहेका छन, श्रमचोरहरु सम्मानित भईरहेका छन् । तर श्रमजिविहरु ऋपमानित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । काठमाडौं महानगरपालिकासंग थोरै पनि नैतिकता भएको भए ति व्यवसायीहरुलाई सम्मान गर्नुपथ्र्यो’ साहले भने । कानून अनुसार काम गरिरहेका कवाडी व्यवसायीलाई गैरकानूनी रुपमा हटाउँन नमिल्ने उनले बताए । तर गैरकानूनी रुपमा हटाउँन खोजिएपछि उनीहरुलाई काम गर्ने विकल्प दिनुपर्ने सुझाव उनले दिए । सर्वोच्च अदालतको निर्णय विपरित समेत महानगरपालिकाका प्रहरीले जबरजस्ती गर्नुले के उनीहरु कानूनभन्दा पनि माथि रहेको छन् भन्दै उनले प्रश्न गरे । सरकारले यसको छिटै निकास दिनुपर्ने र गृहमन्त्रीले सुरक्षाको अनुभुति गराउँनुपर्ने माग समेत उनले गरेका छन् ।
प्रतिक्रिया