×

प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार बिहान अध्यक्ष ओलीले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटमा उनीहरूबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद बदर भएपछि उनले सम्हालेको गृह मन्त्रालय अहिले प्रधानमन्त्री प्रचण्डले आफैं राखेका छन्।

विदेशी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुन प्राप्तिका लागि आवश्यक प्रक्रिया नपुगेको भन्दै गत शुक्रबार सर्वोच्च अदालतले सांसद पद खारेजको आदेश जारी गरेसँगै उनको सभापति र उपप्रधान एवं गृहमन्त्री पद गुमेको थियो । नागरिकता पुन: प्राप्ति गरेका रास्वपा सभापति लामिछानेले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय आफूले नपाएका सरकारबाट बाहिरिने बताएका थिए।

प्रधानमन्त्री प्रचण्ड भने अब गृह मन्त्रालय अरू दललाई नदिने पक्षमा छन्। फागुन २५ गते हुन लागेको राष्ट्रपतिको निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषय पनि सत्ता गठबन्धनभित्र पेचिलो बन्दै गएको छ।

यसअघि एमाले र माओवादी केन्द्रबीच एमालेलाई सभामुख, राष्ट्रपति र माओवादीलाई प्रधानमन्त्री दिने सहमति भएको बताइएको थियो।राष्ट्रिय स्वतन्त्र पार्टीले भने पुनः आफूलाई गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

यहीबीच सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएकाे हो ।

बुधबार १८ माघ २०७९ ११:०६ AM मा प्रकाशित

प्रतिक्रिया