×

नेपाल प्रेसका पत्रकार सुवेदी न्युजरुमबाटै पक्राउ, नयाँ पत्रिका र दियो पोस्टको कार्यालयमा पनि पुग्यो प्रहरी

images

काठमाडौँ (ई-सञ्चारपाटी) । प्रहरीले सञ्चार माध्यमको समाचार कक्ष (न्युजरुम) भित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको छ। नयाँबानेश्वरस्थित नेपाल प्रेस को कार्यालयमा शुक्रबार दिउँसो कार्यकक्षमै खटिरहेका समाचार सम्पादक विश्वमणि सुवेदीलाई सादा पोसाकमा आएका प्रहरीले पक्राउ गरेका हुन्। 

सुरक्षा र अपराध मामिला (सुरक्षा बिट) मा केन्द्रित रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका सुवेदीलाई समाचारको विषयमा सोधपुछ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएर साइबर ब्यूरो पुर्‍याएको हो। नेपाल प्रेसले दुई दिनअघि प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले हटाउन लागेको र उनले कानुनी परामर्श थालेको सम्बन्धी समाचार प्रकाशन गरेको थियो। 

नयाँ पत्रिका र दियो पोस्टमा पनि प्रहरी हस्तक्षेप
नेपाल प्रेसबाट पत्रकार सुवेदीलाई उठाए लगत्तै अपराध अनुसन्धान कार्यालयबाट सादा पोसाकमा खटिएका ५ जना प्रहरी अधिकारीहरू पुतलीसडकस्थित नयाँ पत्रिका दैनिक को केन्द्रीय कार्यालयमा समेत प्रवेश गरेका छन्। प्रहरी टोलीले नयाँ पत्रिकाका वरिष्ठ संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भन्दै उनको कार्यकक्षमै बसेर सोधखोज गरेको नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तले बताएका छन्। प्रहरीसँग मैनालीलाई पक्राउ गर्न जारी गरिएको कुनै पुर्जी भने थिएन। 

यसैगरी अनामनगरस्थित दियो पोस्ट अनलाइनको कार्यालयमा पनि चार जना प्रहरी पुगेर प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानासँग सोधपुछ गर्न खोजेको बताइएको छ। यसअघि मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराललाई पनि अनामनगरबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग 'कनेक्सन' देखिएका इनम सापकोटाको मोबाइल विवरण तथा सर्वोच्चका न्यायाधीश हरि फुयाँलसँग जोडिएका समाचारहरू बाहिरिएपछि पत्रकारहरूमाथि धरपकड बढाइएको बुझिएको छ। 

साइबर ब्यूरोका अधिकारीहरूका अनुसार प्रहरी महानिरीक्षक (आईजीपी) सँग सम्बन्धित प्रकाशित समाचारको विषयमा सोधपुछ गर्न र उपस्थित गराउन साइबर ब्यूरोको अनुरोधमा उपत्यका अपराध अनुसन्धान कार्यालयले सुवेदीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले समाचारसँग सम्बन्धित विषयका अतिरिक्त शान्ति सुरक्षाको पक्ष र अनुसन्धानको पाटो समेत जोडिएकाले नियन्त्रणमा लिई बुझ्न खोजिएको जनाएको छ। सुवेदीलाई औपचारिक रूपमा पक्राउ गरिएको वा सोधपुछका लागि मात्र ल्याइएको भन्ने कानुनी पाटो खुलिसकेको छैन। यस्तै, नेपाल प्रेस अनलाइन सञ्चालन गर्ने नेपाल इप्रेस मिडिया प्रालिका अध्यक्ष विन्दुराज लम्साललाई समेत साइबर ब्यूरोमा बोलाइएको छ।

पत्रकार महासंघद्वारा ‘राज्य आतंक’ को संज्ञा, आन्दोलनको चेतावनी
सञ्चार गृहभित्रै प्रहरी छिरेर पत्रकारहरूमाथि शृङ्खलाबद्ध धरपकड बढाएपछि नेपाल पत्रकार महासंघ ले गम्भीर आपत्ति जनाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै समाचार लेखेकै आधारमा कार्यकक्षबाटै पत्रकारलाई गिरफ्तार गर्नु र अन्य सञ्चार गृहहरूमा प्रहरी परिचालन गरेर भयको वातावरण सिर्जना गर्नु प्रेस स्वतन्त्रता विरोधी हर्कत र 'राज्य आतंक' भएको उल्लेख गरेको छ।

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको स्मरण गराउँदै महासंघले समाचार चित्त नबुझे प्रेस काउन्सिल नेपालमार्फत कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै प्रहरीले बल प्रयोग गरेकोमा भर्त्सना गरेको छ। महासंघले नियन्त्रणमा लिइएका पत्रकार सुवेदीलगायतको तत्काल रिहाइ र सञ्चार गृहहरूबाट प्रहरी फिर्ता गर्न माग गर्दै दबाब नरोकिए देशव्यापी कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

शुक्रबार​ १४ कात्तिक २०८३ ०७:०६ PM मा प्रकाशित

प्रतिक्रिया