×

बाढीको महाविनाश: ४७० सवारीसाधन बेपत्ता, सयौँ मजदुर र व्यवसायीको स्थिति अज्ञात

images

काठमाडौँ — भोटेकोशी र त्रिशूली नदी कोरिडोरमा आएको प्रलयकारी बाढी र पहिरोको विभीषिकामा नेपालको यातायात क्षेत्रले इतिहासकै सबैभन्दा ठूलो र अपूरणीय क्षति व्यहोर्नुपरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अनुसार रसुवा र नुवाकोट खण्डमा बाढीपहिरोका कारण १०० वटा यात्रुवाहक बस, ७० वटा माइक्रोबस र ३०० भन्दा बढी मालवाहक कन्टेनरहरू पूर्ण रूपमा बेपत्ता भएका छन्।

सडक खण्डहरू जलमग्न भएको र रसुवामा मात्रै ४० किलोमिटर सडक बगेका कारण ती सवारीसाधनहरू बाढीको तीव्र बहावसँगै त्रिशूली नदीमा खसेको वा पहिरोको लेदोमुनि पुरिएको आशङ्का गरिएको छ। सवारीसाधनसँगै त्यसमा कार्यरत चालक, सहचालक, मजदुर र स्थानीय व्यवसायीहरूको अत्तोपत्तो छैन।

सुरुङ र बजार क्षेत्रमा पार्किङ गरिएका गाडी सखाप

व्यवसायीहरूका अनुसार बेपत्ता भएका ३०० वटा कन्टेनरमध्ये अधिकांश चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सामान लोड गरेर काठमाडौँतर्फ आउने तयारीमा रहेका र रसुवागढी-टिमुरे क्षेत्रका पार्किङ यार्डमा राखिएका गाडीहरू हुन्। बाढी अचानक बस्ती र पार्किङ क्षेत्रमा पसेका कारण मजदुरहरूले गाडी सुरक्षित स्थानमा सार्ने वा भाग्ने मौका समेत पाएनन्।

यसैगरी, बाढी आएको समयमा सडकमा गुडिरहेका रसुवा-काठमाडौँ चल्ने १०० बस र ७० माइक्रोबसहरू पहिरोको चपेटमा परेका हुन्। २४ सयभन्दा बढी नागरिक बेपत्ता रहेको सूचीमा यी गाडीमा सवार यात्रु, मजदुर र व्यवसायीहरूको सङ्ख्या ठूलो रहेको अनुमान गरिएको छ।

महासङ्घको रोदन: "मजदुर र व्यवसायीको अत्तोपत्तो छैन, खोजी गरिदिने कोही भएन"

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीहरूले यातायात क्षेत्रमा यति ठूलो बज्रपात पर्दा र आफ्ना सयौँ मजदुरहरू बेपत्ता हुँदासमेत सरकारले खोजी कार्यमा चासो नदिएको भन्दै कडा आक्रोश पोखेका छन्। व्यवसायीहरूले भनेका छन्, "हाम्रा सयौँ गाडी र मजदुर साथीहरू बेपत्ता छन्। उनीहरू जीवित छन् कि मृत, केही थाहा पाउन सकिएको छैन। ४१ वटा पुल ध्वस्त भएकाले हामी आफैँ कार्यक्षेत्रमा जान सक्ने अवस्था छैन, सरकारले हेलिकप्टर प्रयोग गरेर भए पनि हाम्रा मजदुर र गाडीको खोजी गरिदिनुपर्‍यो।"

यसैबिच, चीनबाट आएको ६ सदस्यीय सुरुङ विज्ञ टोलीले अपर त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार गरिरहेको भए पनि बाह्य सडक र बगरमा बगेका गाडी तथा मजदुरहरूको खोजी चुनौतीपूर्ण बनेको छ।

६६९ शव भेटिएपछि पहिचान झन् जटिल

बाढी प्रभावित क्षेत्रहरूबाट हालसम्म ६६९ जनाको शव फेला परिसकेको र अस्पतालहरूमा शव गृहको अभाव भएपछि चितवनमा डीएनए (DNA) सुरक्षित राख्दै शव गाड्न सुरु गरिएको छ। यातायात महासङ्घले फेला परेका शवहरूमध्ये धेरैजसो पहिचान हुन नसकेका शवहरू यातायात मजदुर र चालकहरूको हुनसक्ने भन्दै पहिचान प्रक्रियामा आफ्ना प्रतिनिधिहरूलाई पनि सहभागी गराउन माग गरेको छ।

कृष्णभीरमा बाटो भासिएर पृथ्वी राजमार्ग पुनः अवरुद्ध बनेका कारण चीनबाट सैन्य विमानमार्फत काठमाडौँ आइपुगेका बेलिब्रिज र राहत सामग्रीहरू प्रभावित क्षेत्रमा पठाउन ढिलाइ भइरहेको छ, जसले गर्दा यातायात क्षेत्रको यो महासङ्कट व्यवस्थापन गर्न झन् कठीन भएको छ।

सोमबार १५ भदौ २०८३ ०६:५७ PM मा प्रकाशित

प्रतिक्रिया