×

पहिरो र बाढीले पृथ्वी, अरनिको र मेचीसहितका राजमार्ग ठप्प : कुन सडकको अवस्था कस्तो ?

images

अविरल वर्षा, पहिरो र बाढीका कारण देशका विभिन्‍न भागका प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्‍न सडक खण्डमा पहिरो खस्नुका साथै बाढीको जोखिम बढेकाले यातायात पूर्ण तथा आंशिक रूपमा प्रभावित भएको छ।

अहिलेको ताजा स्थिति अनुसार प्रदेशगत सडक खण्डहरूको अवस्था यस प्रकार छ:

कोशी प्रदेश

  • मेची राजमार्ग: इलाम नगरपालिका-९ स्थित राजदुवाली क्षेत्रमा भदौ २३ देखि सडक पूर्ण रूपमा अवरुद्ध छ। ताप्लेजुङ र झापा जोड्ने यो सडक बन्द भएपछि हाल वैकल्पिक मार्गमार्फत सवारी सञ्चालन गराइएको छ।

बागमती प्रदेश

  • पृथ्वी राजमार्ग: धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभिर तथा गजुरी गाउँपालिका-२ परेवाभिरमा भदौ १४ गते पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ।

  • अरनिको राजमार्ग: सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा खसेको पहिरोका कारण यातायात सेवा ठप्प छ।

  • त्रिशुली-मैलुङ-स्याफ्रुबेसी तथा पासाङ ल्हामु राजमार्ग: रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टे क्षेत्रमा आएको बाढीका कारण सडक खण्डहरू पूर्ण रूपमा बन्द भएका छन्।

कर्णाली प्रदेश

  • नाग्म-मुगु गमगढी सडक: मुगुको छायाँनाथ रारा नगरपालिका-७ स्थित झ्यारीखोला र टोक्ला क्षेत्रमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

रात्रिकालीन यात्रामा प्रतिबन्ध लगाइएका सडकहरू सम्भावित जोखिमलाई मध्यनजर गर्दै केही मुख्य मार्गहरूमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ:

  • वि.पि. राजमार्ग: काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने मौसम र सडकको अवस्था हेरेर मात्र गाडी छाडिनेछ।

  • कान्ति लोकपथ: मकवानपुरको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर खण्डमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म यात्रा गर्न पाइने छैन।

  • टोखा–छहरे सडक: नुवाकोटको शिवपुरी गाउँपालिका-८ घट्टेखोला खण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

स्थानीय प्रशासन तथा प्रहरीले पहिरो पन्छाएर सडक सुचारु गराउन निरन्तर प्रयास गरिरहेका छन्। अत्यावश्यक कामबाहेक जोखिमपूर्ण सडकमा यात्रा नगर्न र यात्रा गर्नुअघि नजिकैको प्रहरी चौकी वा सडक विभागमा सम्पर्क गरी सडकको अवस्था बुझ्न अनुरोध गरिएको छ।

सोमबार १५ भदौ २०८३ १०:३४ AM मा प्रकाशित

प्रतिक्रिया