काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष लालवीर चौधरीले रञ्जिता श्रेष्ठलाई पार्टी बैठकमा आएर फेस गर्न सुझाव दिएका छन् ।
नाउपाको राष्ट्रिय भेलाबाट अध्यक्षमा चयन भएपछि लालवीर चौधरीले प्रतिक्रिया दिदै पार्टीलाई निकास दिन श्रेष्ठलाई किनारा लगाएको बताए ।
उनले भने- 'म अध्यक्षको जिम्मेवारी पाइसकेपछि यो कमिटीले दिएको सल्लाह, सुझाव र विधि-पद्धति अनुसार नाउपालाई अगाडि बढाउँछु । हामीले पार्टिको अध्यक्षको रुपमा सुझाव दियौं । डेढ वर्ष भयो उहाँले बैठक नबोलाएको । तत्काल रुपन्देहीको उपचुनावमा उम्मेदवारी दिनुपर्ने हुनाले विधानसम्मत हामीले भेला गरेका हौं । भेलाबाट झटपट गरेर निकास दिन खोजेका हौं । उहाँ (रञ्जिता) ले जतिपनि अभिव्यक्ति दिनु भएको छ । उहाँलाई आएर आफ्नो कुरा राख्न सुझाव सल्ला दिइरहेका छौं । बैठकमा आएर नेता-कार्यकर्तालाई फेस गर्नुस्, उहाँ माथि लागेका आरोप फेस गर्न पार्टी तयार छ । हामि यहाँ ४०-४१ जना छौं, सबैलाई थाहा छ । उहाँलाई दोषीको रुपमा किनारा लगाएको होइन निकास दिन पार्टीले किनारा लगाएको छ ।'
यसअघि भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्ने निर्णय गरेको थियो । विधान विपरीत पोखरा निवासी शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाएपछि बसेको भेलाले श्रेष्ठलाई कारवाही गरेको थियो । बहुमत संस्थापक सदस्यको बैठक बोलाएर रञ्जितालाई २४ घन्टे स्पष्टीकरण सोधिएको थियो र रञ्जिताले स्पष्टीकरण पेस नगरेपछि अनुशासन समितिले राष्ट्रिय भेलामा कारबाहीका लागि प्रस्ताव पेस गरेको थियो ।
बुधाबर भेलाको पहिलो बैठकले अध्यक्ष श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया