×

सुपथ मूल्यमा उपभोक्तालाई पिउने पानी उपलब्ध गराउने मन्त्री खानको प्रतिबद्धता 

images


काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले, पानीमा धनी देशका जनताले पिउने पानीका लागि महँगो पैसा तिर्नु पर्ने बाध्यता दुर्भाग्य हो भनेका छन् ।

सिंहदरबारमा खानेपानी निःशुल्क खुवाउने कार्यक्रमको उद्घाटन गर्दै, अब नेपालीलाई सुपथ मूल्यमा पिउने पानी उपलब्ध गराउनु आफ्नो मुख्य लक्ष्य हुने उनको भनाई छ । पानीको मूल्य घटाउनुको विकल्प नभएको उनको भनाई छ । 

उनले भने ‘पानीमा देश धनी भएको हाम्रो देशको जनताले पानी यति महँगो तिरेर खानु पर्ने कुरा दुर्भाग्य हो, यसको लागि हामी लागि परेका छौ । यसको मूल्य घटाउनु पर्छ त्यसमा दुई मत छैन ।’ 

मेलम्चीको पानी सम्पूर्ण सरकारी निकायहरूमा खुवाउने घोषणा र प्रतिबद्धता पूरा गर्न पाएको भन्दै उनले खुसी व्यक्त गरे । 
उनले उपत्यकाभित्र र देशभर खानेपानीको समस्या समाधान गर्न एउटा कार्य योजना बनाएको र उक्त योजनामा काम गर्न सक्ने हो भने देशमा पानीको समस्या समाधान हुनुका साथै निर्यात पनि गर्न सकिने दाबी गरे । 

‘मैले योजना बनाएको हिसाबले काम गर्न सक्ने हो भने २ वर्षमा काठमाडौं उपत्यका भित्रको पानीको समस्या समाप्त पार्ने, ३ वर्षभित्रमा हिमाल पहाडमा जुन पानीको समस्या छ, स्वच्छ खानेपानी समस्या समाप्त पार्ने, ५ वर्षमा हाम्रो देशको खाने पानी विदेशमा पनि निर्यात गर्ने हाम्रो योजना छ  । उक्त योजनामा काम गर्न, ३ देखि ५ महिना भित्र बोतल र जारको पानीको मूल्य कम गर्ने छौ ।’ उनले भने 

नेपाल सरकारले गरेको प्रतिविद्धता अनुसार एक घर एक पानीको धाराको हिसाबले काम अगाडि बढि रहेको पनि उनको भनाई छ । 
उनले सार्वजनिक स्थान, अस्पताल, बसपार्क एयरपोर्टमा निःशुल्क पानी वितरण गर्ने कार्य योजना अघि बढेको बताए । 


 

शुक्रबार​ १७ चैत २०७९ १२:२३ PM मा प्रकाशित

प्रतिक्रिया