×

कांग्रेस केन्द्रीय सदस्यमा दैलेखका युवा नेता दीपक सोनीको उम्मेदवारी

images

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा दैलेखका युवा नेता दीपक सोनीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। पार्टीको केन्द्रीय नेतृत्वमा युवा पुस्ताको सहभागिता र दैलेखको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सोनीले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी अघि सारेका हुन्।

दैलेखको कांग्रेस राजनीतिमा सक्रिय रहँदै आएका सोनीले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवा पुस्तालाई पार्टीको मूलधारमा जोड्ने विषयलाई प्राथमिकतामा राखेर आफ्नो राजनीतिक यात्रा अघि बढाउँदै आएका छन्। उनको उम्मेदवारीसँगै कांग्रेसको केन्द्रीय नेतृत्वमा दैलेखबाट युवा प्रतिनिधित्वको विषयले पनि चर्चा पाएको छ।

सोनी यसअघि नेपाली कांग्रेसको दलित समुदाय समन्वय तथा सशक्तीकरण विभागको सदस्यमा मनोनीत भएका थिए।त्यस्तै, उनी कांग्रेसको भातृ संस्था नेपाल दलित संघमा केन्द्रीय सदस्य, सचिव र कार्यवाहक महासचिवसम्म भएर काम गरिसकेका छन्। 

न्याय, समानता र दलित अधिकारको क्षेत्रमा क्रियाशील उनले अब कांग्रेसको नेतृत्वमा नेपाली समाजलाई अघि बढाउने उद्देश्यसहित केन्द्रीय सदस्यको उम्मेदवार बनेको बताए।

आफ्नो उम्मेदवारीमार्फत सोनीले पार्टीमा युवा पुस्ताको भूमिका, संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान तथा दैलेखको आवाजलाई केन्द्रीय तहमा प्रभावकारी रूपमा उठाउने विषयलाई जोड दिने बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि विभिन्न समूह तथा समावेशी क्लस्टरबाट उम्मेदवारीहरू दर्ता भएका छन्। खुला केन्द्रीय सदस्यतर्फ ४५ पदका लागि ९२ जनाको उम्मेदवारी परेको निर्वाचन समितिको प्रकाशित विवरणमा उल्लेख छ।

दैलेखका युवा नेता सोनीको उम्मेदवारीले पार्टीको केन्द्रीय नेतृत्वमा नयाँ पुस्ताको सहभागिता र जिल्लाको प्रतिनिधित्वको बहसलाई थप अगाडि ल्याएको छ। आगामी महाधिवेशनमा प्रतिनिधिहरूबीच हुने छलफल र मतदानबाट केन्द्रीय नेतृत्व चयन हुनेछ।

बुधबार २१ असोज २०८३ ०८:५४ AM मा प्रकाशित

प्रतिक्रिया