काठमाडौं, असोज २६ — नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा पूर्ण रूपमा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पार्टीको १५औँ महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले कांग्रेसलाई समयअनुकूल रूपान्तरण गर्दै जनअपेक्षा अनुसार अघि बढाउने बताए। महामन्त्री पौडेलले पार्टीभित्र देखिएका सानातिना असन्तुष्टिहरूलाई हल गर्दै विधि र विधानसम्मत ढङ्गले सङ्गठनलाई अगाडि बढाउने स्पष्ट पारेका छन्।
"अबको हाम्रो मुख्य उद्देश्य भनेको पार्टीभित्र बलियो एकता कायम गर्नु हो," उनले भने, "जनताका दैनिक समस्या, जीविकोपार्जनका विषय र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा कांग्रेस केन्द्रित हुनुपर्छ।"
उनले कांग्रेसको १५औँ महाधिवेशनलाई सफल बनाउन अहोरात्र खटिने पार्टीका सम्पूर्ण महाधिवेशन प्रतिनिधि, नेता–कार्यकर्ता, मतदाता तथा शुभचिन्तकहरूप्रति हार्दिक आभार तथा धन्यवादसमेत व्यक्त गरेका छन्। युवा नेता पौडेलको विजयसँगै कांग्रेसको आगामी साङ्गठनिक स्वरूप र कार्यशैलीमा नयाँ ऊर्जा थपिने विश्वास कार्यकर्ताहरूले व्यक्त गरेका छन्।
प्रतिक्रिया