काठमाडौं: सरकारले कार्यविधिविपरीत विभिन्न राजनीतिक दलका कार्यालय तथा नेताहरूको व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। गृह मन्त्रालयले मापदण्ड विपरीत तथा व्यक्तिगत स्वार्थका लागि खटाइएका सुरक्षाकर्मीहरूलाई आफैँ फिर्ता हुन वा सम्बन्धित दरबन्दीमातहततर्फ फर्कन सात दिनको अल्टिमेटम दिएसँगै यो कदम चालिएको हो।
विशेषगरी प्रमुख राजनीतिक दल नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासललगायत अन्य स्थानहरूमा कार्यविधि विपरीत राखिएका सुरक्षाकर्मी तथा व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) हरूलाई सरकारको निर्देशनपश्चात फिर्ता बोलाइएको छ। यसअघि विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधिको बेवास्ता गर्दै दलका कार्यालय र नेताहरूको घरमा सुरक्षाकर्मी प्रयोग हुँदै आएको जनगुनासो बढेपछि गृह मन्त्रालयले यसमा कडाइ गरेको हो।
गृह मन्त्रालयले तोकिएको मापदण्ड विपरीत खटाइएका सुरक्षाकर्मीलाई तुरुन्त फिर्ता नपठाएमा सम्बन्धित अधिकारीहरूलाई समेत आवश्यक कारबाहीको दायरामा ल्याइने चेतावनी दिएको छ। सरकारको यस कदमले सुरक्षा निकायको जनशक्ति दुरुपयोग रोक्न मद्दत पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया