×

अडियो काण्डपछि रास्वपाको एक्सन: सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक कार्यक्रममा रोक

images

काठमाडौँ, २७ असोज २०८३ -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य (सांसद) खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका गम्भीर आरोपहरूबारे आधिकारिक रूपमा आन्तरिक छानबिन सुरु गरेको छ। बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद सुनारमाथि एक महिलालाई अवाञ्छित धम्की दिएको र ब्ल्याकमेकिङ गरेको अडियो सार्वजनिक भएपछि पार्टीले यस्तो कदम चालेको हो।

रास्वपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्ति अनुसार, यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन अघि बढाउन निर्देशन दिइसकिएको छ।

छानबिन नसकिँदासम्म सार्वजनिक कार्यक्रममा 'रोक'

पार्टीले अनुसन्धान प्रक्रियालाई पूर्ण रूपमा निष्पक्ष राख्न र पदीय नैतिकता कायम राख्नका लागि सांसद सुनारमाथि कडा प्रतिबन्ध समेत लगाएको छ। अनुशासन आयोगको छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उनलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक वा सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन पूर्ण रूपमा रोक लगाइएको महामन्त्री आचार्यले स्पष्ट पारेका छन्। अनुसन्धान अवधिभर उनले पार्टीको तर्फबाट कुनै पनि प्रतिनिधित्व गर्न पाउने छैनन्।

महिलाको मर्यादा र आर्थिक लेनदेनमा 'शून्य सहनशीलता'

सञ्चारमाध्यममा सार्वजनिक भएका श्रव्य सामग्री (अडियो) र समाचारहरूमा सांसद सुनारमाथि महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याएको, अनुचित दबाब दिएको, धम्कीपूर्ण भाषा प्रयोग गरेको तथा शङ्कास्पद आर्थिक लेनदेनमा संलग्न रहेको जस्ता गम्भीर प्रश्नहरू उठाइएका छन्। रास्वपाले यस्ता संवेदनशील विषयलाई हल्का रूपमा नलिने स्पष्ट पार्दै महिलामाथि हुने दुर्व्यवहार र कसुरमा 'शून्य सहनशीलता' को नीति दोहोर्‍याएको छ।

'राज्यका निकायलाई पूर्ण सहयोग गर्छौँ'

पार्टीले राज्यका कानुनी निकायबाट स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुने विश्वास व्यक्त गर्दै त्यसमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कानुनविपरीत कार्य गर्नेलाई कुनै पनि राजनीतिक संरक्षण नदिइने र आन्तरिक तथा राज्यको छानबिन निष्कर्षका आधारमा थप कदम चालिने विज्ञप्तिमा उल्लेख छ।


 

मङ्गलबार २७ असोज २०८३ ११:१३ AM मा प्रकाशित

प्रतिक्रिया