×

शपथ ग्रहणमा ओलीको कडा चेतावनी— ‘हामीमाथि दमन गर्न खोजिए प्रतिवादमा उत्रिन्छौँ’

images

काठमाडौँ, २६ असोज २०८३ -नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीविरुद्ध चौतर्फी राजनीतिक घेराबन्दी अझै जारी रहेको दाबी गरेका छन् । ललितपुरको च्यासस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी एमालेविरुद्ध फेरि मोर्चाबन्दी भइरहेको आरोप लगाएका हुन्।

विरोधी शक्तिहरूले शक्तिशाली बनेर राज्य संयन्त्र वा सङ्गठित बलमार्फत दमन गर्न खोजे एमालेले चुप लागेर नबस्ने र कडा प्रतिवाद गर्ने उनले स्पष्ट चेतावनी दिए। उनले आक्रोशपूर्ण शैलीमा भने, “हामीविरुद्धको घेराबन्दी अझै सकिएको छैन, घेराबन्दी चालु छ। यदि फेरि पनि बलजफ्ती र दमन गरिन्छ भने त्यसलाई अस्वीकार गरेर हामी प्रतिवादमा उत्रिनेछौँ।” 

विगतको तीतो अनुभव: २०७७ र २०७९ को स्मरण

आफ्नो सम्बोधनका क्रममा ओलीले विगतका वर्षहरूमा एमालेलाई सिध्याउन गरिएका राजनीतिक हर्कतहरूको फेहरिस्त प्रस्तुत गरे । “२०७७ सालमा हाम्रो पार्टी नै कब्जा गरेर ध्वस्त पार्ने प्रयास गरियो, २०७९ सालको निर्वाचनमा पनि ठूलो घेराबन्दी र मोर्चाबन्दी भयो,” ओलीले भने, “हाम्रा नेताहरूलाई तितरबितर पार्ने अनेकौँ जालझेल भए पनि एमाले लोकप्रिय पार्टी बनेरै छाड्यो ।” अहिले पनि सामाजिक सञ्जाल र अन्य माध्यमबाट एमाले र यसका नेताहरूको चरित्र हत्या गरी जनतामाझ अलोकप्रिय बनाउने प्रयास निरन्तर भइरहेको उनको आरोप थियो ।

वास्तविक आन्दोलन र लुटपाटको भिन्नता

अध्यक्ष ओलीले आन्दोलनको नाममा हुने अराजक गतिविधि र आगजनीलाई एमालेले कहिल्यै स्वीकार नगर्ने बताए। आन्दोलनको परिभाषा दिँदै उनले भने, “आगो लगाउनु वा लुटपाट गर्नु आन्दोलन होइन । आन्दोलन भनेको त ठूलो र बलियो सङ्गठित शक्तिले असङ्गठित, कमजोर र निहत्था जनतालाई बलजफ्ती दमन गर्छ भने त्यसको विरुद्धमा उभिनु र प्रतिवाद गर्नु मात्रै हो ।” नेपालमा लोकतन्त्र, राष्ट्रिय अस्मिता, स्वाधीनता र स्वतन्त्रतालाई कमजोर बनाइएकाले त्यसको पुनःप्राप्तिका लागि आवश्यक परे एमाले जस्तोसुकै आन्दोलन र सङ्घर्ष गर्न पछि नहट्ने उनको जिकिर थियो ।

अब इतिहास र योगदानका आधारमा मात्रै मूल्याङ्कन नहुने

नवनियुक्त केन्द्रीय सदस्यहरूलाई कडा निर्देशन दिँदै ओलीले पार्टीभित्रको मूल्याङ्कन प्रणालीमा व्यापक परिवर्तन आउने घोषणा गरे । अब विगतमा गरेको त्याग वा इतिहासको कुरालाई मात्रै मापदण्ड बनाएर नेताहरूको मूल्याङ्कन नहुने उनले स्पष्ट पारे । “विगतको इतिहास र योगदानसँगै अब क्षमता छ कि छैन र व्यवहारमा सक्रियता छ कि छैन भन्ने कुरा मुख्य हुन्छ,” ओलीले थपे, “कुनै विषयमा जतिसुकै ठूलो विज्ञ भए पनि पार्टीको काममा कर्मशील नहुने हो भने त्यसको कुनै अर्थ रहँदैन। जिम्मेवारी पाएसँगै सबैको परीक्षा सुरु भएको छ ।”

पार्टीभित्रका सानातिना आन्तरिक विवाद र असहमतिमा अल्झिएर बस्ने छुट कसैलाई नभएको भन्दै उनले सम्पूर्ण पार्टी पंक्तिलाई 'समृद्ध नेपाल, सुखी नेपाली' को साझा लक्ष्यमा एकजुट भएर लाग्न आह्वान गरे ।

सोमबार २६ असोज २०८३ ०६:४२ PM मा प्रकाशित

प्रतिक्रिया