×

दसैँ मनाउन राजधानीबाट घर फर्किनेहरूको घुइँचो, साधारण समयको तुलनामा तीन गुणासम्म बढ्यो यात्रुको आवागमन

images

काठमाडौं। बडादसैँ नजिकिँदै जाँदा राजधानी काठमाडौँबाट आफ्नो घर गाउँतर्फ फर्किने यात्रुहरूको चाप अत्यधिक रूपमा बढेको छ। यसैक्रममा गोँगगमास्थित नयाँ बसपार्कबाट मात्रै पछिल्लो ९ दिनको अवधिमा दुई लाखभन्दा बढी यात्रुले काठमाडौँ छाडेका छन्।

पढाइ, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका मानिसहरू चाडपर्व मनाउन आफ्नो गृहजिल्ला तर्फ प्रस्थान गर्ने क्रम तिब्र बनेसँगै नयाँ बसपार्क क्षेत्रमा यात्रुहरूको भारी भिड लागेको हो। नेपालका विभिन्न दुरदराज र ग्रामीण भेगमा जाने लामो तथा छोटो दूरीका सवारीसाधनहरूमा यात्रुहरूको चाप बढेको यातायात व्यवसायीहरूले बताएका छन्।

नयाँ बसपार्क सञ्चालन गरिरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिका अनुसार सामान्य दिनहरूमा दैनिक ५ देखि ६ हजारको हाराहारीमा मात्रै नयाँ बसपार्कबाट यात्रुहरू बाहिरिने गरेका थिए। तर दसैँको समय नजिकिएसँगै यो सङ्ख्या बढेर तीन गुणाभन्दा बढी पुगेको छ। यात्रुहरूको चापलाई मध्यनजर गर्दै बसपार्क क्षेत्रमा टिकट काट्नेहरूको भिड व्यवस्थापन गर्न र सहजताका लागि थप टिकट काउन्टरहरूको समेत व्यवस्था गरिएको छ।

चाडपर्वको समयमा हुन सक्ने सम्भावित सास्ती, भीडभाड र कालोबजारीलाई ध्यानमा राख्दै यातायात क्षेत्रका प्रतिनिधिहरूले यात्रुहरूलाई आधिकारिक काउन्टरबाट मात्रै टिकट काटेर यात्रा गर्न, तोकिएको भन्दा बढी भाडा नतिर्न र सवारीसाधनको अवस्था राम्ररी जाँच गरेर मात्रै सुरक्षित यात्रा गर्न विशेष आग्रह गरेका छन्।

सोमबार २६ असोज २०८३ ११:५० AM मा प्रकाशित

प्रतिक्रिया