×

पदाधिकारीपछि अब केन्द्रीय सदस्यको पालो: मङ्गलबार बिहान ८ बजेदेखि सुरु हुँदै सबैभन्दा ठूलो मतपत्रको गणना

images

काठमाडौँ, २६ असोज २०८३- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको प्रत्यक्ष खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना असोज २७ गते (मङ्गलबार) बिहान ८:०० बजेदेखि सुरु हुने भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा सोमबार जारी गरिएको आधिकारिक सूचनाअनुसार (मतपत्र नं. ४) को गणना कार्यतालिका सार्वजनिक गरिएको हो। 

मतगणना ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा सञ्चालन गरिने निर्वाचन समितिले जनाएको छ। 

उम्मेदवार बाहेक प्रतिनिधि राख्न नपाइने कडा नियम

यस पटकको मतगणना प्रक्रियालाई थप व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन निर्वाचन समितिले उम्मेदवारका प्रतिनिधि व्यवस्थासम्बन्धी नियममा कडाइ गरेको छ। निर्देशिका अनुसार खुला केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको हकमा मतगणनास्थलमा उम्मेदवार स्वयं बाहेक अन्य कुनै पनि प्रतिनिधिलाई प्रवेश अनुमति दिइने छैन। 

उम्मेदवार आफैँ उपस्थित भएर मात्र मतगणनाको प्रत्यक्ष अवलोकन गर्नुपर्ने अनिवार्य व्यवस्था समितिले गरेको छ। यसअघि सहमहामन्त्री पदका उम्मेदवारलाई बढीमा २ जना प्रतिनिधि राख्न दिइए पनि केन्द्रीय सदस्यको हकमा भने भिडभाड कम गर्न यो कडा कदम चालिएको हो।

सोमबार दिउँसोदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा खुला सहमहामन्त्री, सहमहामन्त्री (महिला), नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्य तथा महिला खुला केन्द्रीय सदस्य (१५ पद) को गणना कार्य जारी रहेको छ। यी क्लस्टरहरूको गणना अन्तिम चरणमा पुगेकाले समितिले मङ्गलबार बिहानैदेखि प्रत्यक्ष खुलातर्फको सबैभन्दा ठूलो मतपत्र गणनाको तयारी थालेको हो। 

७ हजारभन्दा बढी मतदाता रहेकाले यस महाधिवेशनको पूर्ण परिणाम आउन अझै केही दिन लाग्ने भए तापनि विभिन्न २३ स्थानमा टोली विभाजन गरी गणना कार्यलाई तीव्र पारिएको निर्वाचन समितिले जनाएको छ। 

सोमबार २६ असोज २०८३ ०६:२८ PM मा प्रकाशित

प्रतिक्रिया