चतुरे र सेती प्रेममा गाँसिएका थिए । धन कमाउन परदेश नगएको भनेर सेतीको बाबुले ऊनीहरुको बिहेको मन्जुरी नदिएकोले ती दुईले भागी बिहे गरे । चतुरेकी आमाले केही समय सेतीलाई लुकाएर राखी ।
चतुरेका गोठाला दौतरीहरु प्रायः सबै धन कमाउन अरब देशतिर गइसकेका थिए । सेतीलाई छोडेर चतुरेलाई टाडा जान मन लागेन । उसले आफ्नै देशको ठूलो शहर गएर काम गर्ने बिचार गर्याे । जाने बेलामा सेतीलाई माया गरेर अँगालोमा बाँधेर सम्झाउँदै भन्यो : ‘ म धन कमाउन सहरतिर जान्छु । तँ आमासँग बस् । बेला मौकामा आउँछु । मलाई अरुको जस्तो धेरै धन कमाउनु छैन् । धेरै समय तँलाई छोडेर बस्न सक्दिनँ । तँ राम्री छस् । अरुले आँखा लगाउलान भन्ने पीर लाग्छ ।’
सेतीले रुँदै भनी: ‘ तिमी पनि अनाहकमा शङ्का गर्छाै । तिमीजस्तो माया गर्ने खसमलाई छोडेर म कतै जान सक्दिनँ । तिमी पीर नगरिकन धन कमाउन जाऊ ।’
सहरमा साहुको ठेला गाडामा सामान ओसारपसारको काम गरेर चतुरेले राम्रै आर्जन गर्दै गयो । सेतीको याद नआएको पल नै हुँदैन थियो उसलाई । उसले भनेकी मायाका शब्दहरु सम्झिएर चित्त बुझाए पनि छुच्चा गाउँलेहरुले सेतीको मन भाँडी दिन्छन् कि भन्ने शङ्का लाग्दथ्यो ।
एकदिन सहरका केही पसलहरु रातै सिंगारिएका युवायुवतीहरु हातेमालो गर्दै रातो गुलाफको गुच्छा बोकेर हिंढेको देख्दा उसलाई के होला भन्ने जान्ने उत्सुकता जाग्यो । उत्सुकतावस उसले आँट गरेर रातो गुलाफको फूलको गुच्छा हातमा लिएर बाहिर निस्किएका एकजोडी युवायुवतीलाई सोध्यो: ‘नमस्ते हजुर आज कुन चाड हो यताका सबैजसो तरुनातरुनीहरुले हातेमालो गरेर रातो गुलाफको फूलको गुच्छा बोक्नु भएको छ । पसलहरु पनि रातोले सजिएको छ ।’
उनीहरुले उत्तर दिए: ‘आज प्रेम दिवस हो । केटाले आफूले माया गरेको केटीलाई रातो गुलाफको फूल र उपहार दिने दिन हो ।’ चतुरे आफ्नो खल्ती छाम्दै नजिकैको रातोले सजिएको पसल भित्र पस्यो ।
प्रतिक्रिया