×

नागरिक सर्वोच्चता पार्टीको पहिलो प्राथमिकता-सभापति गगनकुमार थापा

images

ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू नेतृत्वको पार्टीको पहिलो प्राथमिकता भएकाले जनताका पक्षमा निरन्तर वकालत गर्ने बताएका छन् । 

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पार्टीको भातृ संस्था नेपाल थारू सङ्घको प्रथम महाधिवेशनमा उनले राष्ट्रको एकीकरण र राष्ट्रिय एकता कायम गर्ने सन्दर्भमा थारू समुदायको ठूलो योगदान महत्त्वपूर्ण भएको बताए । थारू समुदायका नागरिकका लागि राज्यका निकायमा सहज पहुँच पुर्‍याउन आफू लागिपर्ने उनको भनाइ छ ।

“बिपी कोइरालाले थारू समुदायप्रतिको विश्वास र भरोसा गर्दै जिम्मेवारीमा प्रतिनिधित्व गराएका थिए । थारू सङ्घ पार्टीको भातृ संस्था हो, पार्टीको अभिन्न अङ्ग हो, सङ्घको यो अधिवेशनबाट निर्वाचित हुने नेतृत्वले पार्टीको नयाँ क्रियाशील सदस्यता अभिवृद्धिका लागि जोड दिनुपर्छ, थारू सङ्घको अबको नेतृत्वले संविधान संशोधनमा समेटिनुपर्छ”, सभापति थापाले भने ।

कांग्रेसले नेपालको अर्थतन्त्रमा सुधार गर्नुपर्छ भनेर वकालत गरेको उल्लेख गर्दै उनले बजेटमा धेरै सुधारका कुराहरू समेटिएको भए पनि न्यून आय भएको समाजका वर्गप्रति बजेट मौन रहेको धारणा राखे ।

पार्टीका महामन्त्री प्रदीप पौडेलले थारू समुदायले नेपालको सीमा रक्षा र आर्थिक विकासमा ठूलो योगदान गरेको स्मरण गर्दै संविधानमा प्राप्त भएको अधिकारलाई रक्षा गर्दै थारू समुदायलाई मूलधारमा स्थापित गर्न मिलेर जानुपर्ने आवश्यकता रहेको बताए ।

पार्टीका अर्का महामन्त्री गुरुराज घिमिरेले थारू जाति नेपालको मूलवासी भएको भन्दै थारू जातिको उत्थान राजनीतिक अधिकार स्थापित गराउनका लागि सबै एकताबद्ध लाग्नुपर्नेमा जोड दिँदै सबै पार्टी र जातजातिलाई एकताको सुत्रमा बाँध्ने भनेको कांग्रेस भएको दाबी गरे ।

पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठले व्यक्तिवादी चिन्तनबाट अगाडि बढेर नेपालमा रहेका सम्भावनालाई पहिचान गर्दै समृद्धि, समुन्नति र राजनीतिक उपलब्धि हासिल गर्न लाग्नुपर्नेमा जोड दिए । कांग्रेसक सहमहामन्त्री योगेन्द्र चौधरीले नेपाल विविधता बोकेका नागरिकको देश भएको धारणा बताउँदै थारू समुदायको हकहितका साथै हरेक नेपालीलाई राजनीतिक, आर्थिक र सामाजिक अधिकारमा स्थापित गर्न ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दम्बेले हिमाल, पहाड र तराईका हरेक मानिसहरूको अपेक्षा र चासोलाई सम्बोधन गर्दै पहिचानको मुद्दा राज्यको हरेक तहमा स्थापित गर्न कांग्रेसले ध्यान दिनुपर्नेमा जोड दिए ।

केन्द्रीय सदस्य गोपाल दहिदले राष्ट्रिय जनसङ्ख्याअनुसार देशभर ७ प्रतिशत जनसङ्ख्या रहे पनि कांग्रेसभित्र तीन प्रतिशत मात्रै क्रियाशील सदस्य रहेको जानकारी गराउँदै थारू सङ्घले थारूहरूमाथिको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक विभेद विरुद्ध आवाज उठाउँदै आएको बताए ।

केन्द्रीय सदस्य जीवन रानाले भाषिक, सांस्कृतिक रूपमा सुन्दर इतिहास र पहिचान रहेको थारू समुदायको आर्थिक सामाजिक न्याय, राजनीतिक परिवर्तनका लागि खेलेको भूमिका महत्त्वपूर्ण भएको बताए । पूर्वमन्त्री तेजुलाल चौधरीले संविधान घोषणा भएको ११ वर्ष पूरा हुँदा पार्टीले पर्याप्त रूपमा थारूलाई सरकारी सेवा, प्रदेश सरकारमा मन्त्रिपरिषद्मा, राजनीतिक नेतृत्वमा समेट्न नसकेको धारणा राखे ।

शनिबार १६ जेठ २०८३ ०९:०८ PM मा प्रकाशित

प्रतिक्रिया