ललितपुर - मञ्जुश्री संबत् २०६१ तथा डुल ल्हो सोनाम ल्योछारको उपलक्ष्यमा महालक्ष्मी नगरपालिका वडा नं १० ले आयोजना गरेको फुटबल म्याच आज सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा उद्घाटन भएको उक्त कार्यक्रम ललितपुर क्षेत्र नम्बर २ का संघीय सांसद माननीय प्रेमलाल महर्जनले समापन गर्नुभएको थियो।
मनोरम लाकुरी भन्ज्याङ स्थित नयाँ रङ्गशालामा खेलिएको उक्त खेलमा चन्द्रागिरीले फाइनलमा ट्राइबेकरमा इमाडोललाई हराउँदै जित हासिल गरेको थियो । २० वटा क्लब सहभागी भई १६ दिनसम्म चलेको उक्त फुटबल म्याच आज समापन गरिएको हो। महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले सोनाम ल्योछारको शुभकामना दिँदै उक्त क्षेत्रलाई पर्यटकीय हिसाबले विकास गर्नको लागि नगरपालिकाले गर्नुपर्ने सहयोग भरपुर गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
उक्त कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष विजय लामाले शुङ्गीऋषिको आश्रम समेत रहेको यो वडामा खेलकुदका साथै धार्मिक पर्यटनको केन्द्र बन्ने विश्वास व्यक्त गर्दै उक्त वडामा आयोजित कार्यक्रमले अन्य जाति र संस्कृतिलाई समेत समेट्दै धार्मिक सहिष्णुता प्रदर्शन गर्ने कुरा बताउनुभयो।
प्रतिक्रिया