नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका पछिल्ला समाचारमा कुनै सत्यता नरहेको बताएका छन् । आज पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन।
यद्यपि उनले आफू कम्युनिष्ट एकताको विपक्षमा नरहेको भन्दै त्यसका लागि दुवै पक्ष तयार हुन जरुरी रहेको बताए । ‘अहिले एमालेसँग जोडेर बजारमा माधव नेपाललाई राष्ट्रपति बनाउने हल्ला चलेका छन् । ति बजार हल्लामा कुनै सत्यता छैन’,पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘यो सुनेर के हो ? कसो हो ? भनेर नेता कार्यकर्तामा जिज्ञासा पैदा भएको छ ।
तर बजार हल्लाको पछि लाग्नु हुँदैन ।’ उनले त्यसका लागि दुवै पक्ष तयार हुन जरुरी रहेको पनि बताए । ‘दुवै पक्ष तयार हुनुपर्छ । अव पुरानै कुरामा अलमलिन पनि ठिक हुँदैन’, उनले सरकारले विश्वासको मत लिएपछि सरकारमा जाने नजानेबारे पार्टीले निर्णय गर्ने पनि बताए ।
उनले वाम एकताबारे पहिलेदेखि नै प्रयास भइरहेको र पछिल्लो समय स्वयं राष्ट्रपतिको पनि चिन्ता चासो रहेकाले आफू वाम एकताका लागि सकारात्मक रहेको बताए । ‘हामी नयाँ शिराबाट जान तयार छौ’, अध्यक्ष नेपालको भनाइ छ । फरक प्रशंगमा अध्यक्ष नेपालले केपी ओलीले आफूलाई भेट्न खोज्दा आफूले अस्वीकार गरेको भन्ने कुरामा पनि सत्यता नरहेको बताए ।
‘केपी ओली मेरो घरमा आउन खोज्दा मैले अस्वीकार गरेको भनेर पनि कुरा आएको छ । कुरा त्यसो होइन, उहाँ आए म कार्पेट ओच्छ्याएर स्वागत गर्थेँ’, अध्यक्ष नेपालको भनाइ छ ।
प्रतिक्रिया