×

संसद्‍मा हंगामा : चोलेन्द्रशम्शेरलाई बिना पुर्जी मध्यरातमा समात्नु र छाड्नुको रहस्य के ?

images

काठमाडौं । संसद्‌मा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई विना पक्राउ पुर्जी नियन्त्रणमा लिने र लगत्तै छाड्ने सरकारी कदमलाई लिएर विपक्षी दलका सांसदहरूले कडा आपत्ति जनाएका छन्।

नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राई लगायतका नेताहरूले संसद्‌मा यस विषयमा सरकारसँग स्पष्ट जवाफ मागेका हुन्।

प्रमुख सचेतक दुलालले सरकारले मध्यरातमा बिना पक्राउ पुर्जी र बिना कारण गैरकानुनी रूपमा नियन्त्रणमा लिएर नयाँ 'स्टन्ट' देखाएको आरोप लगाए। त्यस्तै, एमाले प्रमुख सचेतक महरले राज्यले ‘म नै राज्य हुँ’ भन्ने शैलीमा गुण्डागर्दी र अपहरणको तरिका अपनाएर राज्य आतंक सिर्जना गरेको बताए।

राजनीतिक विश्लेषक भरत दाहाल र पूर्वप्रधानन्यायाधीश जबरालाई लगातार नियन्त्रणमा लिने अनि छाड्ने प्रक्रिया चलिरहेको भन्दै सांसद ध्रुवराज राईले यस विषयमा स्वयं प्रधानमन्त्री शाहले संसद्‌मा उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने माग गरे।

शनिबार राति प्रहरीले घरैबाट नियन्त्रणमा लिएका जबरालाई कुन कसुरमा र के आधारमा समातिएको हो भन्नेबारे प्रहरी तथा सरकारी निकायले अहिलेसम्म औपचारिक जानकारी गराएका छैनन्। दिउँसो परिवारको जिम्मा लगाएर छाडिएपछि सरकारको यो कदमको चौतर्फी आलोचना भइरहेको छ।

सोमबार १२ असोज २०८३ १२:२२ PM मा प्रकाशित

प्रतिक्रिया