×

अमेरिकी वाणिज्यमन्त्री र चिनियाँ समकक्षीबीच बेइजिङमा भेटवार्ता

images

 

अमेरिकी वाणिज्यमन्त्री जिना राइमोन्डोले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार बेइजिङमा भेटवार्तामा विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच स्थिर सम्बन्ध हुनु ‘अत्यन्त महत्वपूर्ण’ भएको बताउनुभएको छ । 

वासिङ्टनले बेइजिङसँगको व्यापार तनाव कम गर्न काम गरिरहेका बेला हालैका महिनाहरूमा अमेरिकी अधिकारीहरूले चीनमा गरेको उच्चस्तरीय भ्रमणको शृङ्खलामा एक मन्त्रीका रूपमा उहाँको यो पछिल्लो भ्रमण हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै वर्ष चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने समाचारहरू सार्वजनिक भइरहँदा अमेरिकी बाणिज्य मन्त्रीका रूपमा राइमोन्डोले व्यापार क्षेत्रमा रहेका तनाबलाई कम गर्न चीन भ्रमण गर्नुभएको हो । 

सोमबार बिहान चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओसँग भएको भेटमा राइमोन्डोले दुई देशबीचको आर्थिक सम्बन्ध ‘विश्वकै सबैभन्दा महत्वपूर्ण’ भएको बताउनुभएको छ । 

“हामी बीच ७०० अर्ब डलरको व्यापार छ र म तपाईसँग सहमत छु कि हामीसँग स्थिर आर्थिक सम्बन्ध हुनु अत्यन्त महत्वपूर्ण छ,”अमेरिकी वाणिज्य मन्त्रालयले मन्त्री राइमोन्डोलाई उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“यो एक जटिल सम्बन्ध होस यो चुनौतीपूर्ण पनि छ,” उहाँले वाङसँग भन्नुभयो । 

उहाँले प्रसङ्गलाई जोड्दै भन्नुभयो, “हामी निश्चित रूपमा केही मुद्दाहरूमा असहमत हुनेछौं, तर मलाई विश्वास छ कि यदि हामी प्रत्यक्ष, खुला र व्यावहारिक छौं भने हामी प्रगति गर्न सक्छौं ।”

आइतबार बेइजिङ आइपुगेका राईमोन्डोसँग वाणिज्य मन्त्रालयको अमेरिका तथा ओसियाना विभागका निर्देशक लिन फेङ र चीनका लागि अमेरिकी राजदूत निकोलस बन्र्सले भेटवार्ता गर्नुभएको थियो । 

सामाजिक सञ्जाल एक्स ९ट्वीटर० मा पोस्ट गर्दै राइमोन्डोले आफ्नो भ्रमणले सम्बन्धमा नयाँ उर्जा दिनेमा आफु आशावादी रहेको बताउनुभएको छ । 

भ्रमणका क्रममा उहाँले चीनको आर्थिक शक्ति केन्द्र साङ्घाईको पनि भ्रमण गर्ने अमेरिकी वाणिज्य विभागले जनाएको छ । उहाँ बुधवार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

पछिल्लो केही बर्ष यता संयुक्त राज्य अमेरिका र चीनबीचको सम्बन्ध दशकौं यताकै सबैभन्दा तल्लो स्तरमा झरेको छ ।

वासिङ्टनले राष्ट्रिय सुरक्षाको सुरक्षाका लागि व्यापार प्रतिबन्ध महत्वपूर्ण रहेको बताउँदै आएको छ, तर चीनले यसलाई अमेरिकाले आफ्नो आर्थिक वृद्धिलाई रोक्न खोजेको कदमका रूपमा बुझेको छ ।
(((

सोमबार ११ भदौ २०८० ०५:५९ PM मा प्रकाशित

प्रतिक्रिया